सौगात पोखरेल । यतिबेला नेकपामा प्रचण्ड र ओली खेमाको बीचमा चर्को विवाद रहेको छ । नेकपाका नेता कार्यकर्ताले त यसलाई विचारको विवाद पनि भन्न सक्छन् । तर त्यसमा सत्यता भने कत्ति पनि छैन । न प्रचण्ड विचारको राजनीति गर्छन्, न त ओली नै विचारको राजनीति गर्छन् । तथ्य र इतिहासहरुलाई सरसती अध्यायन गर्ने हो भने हामीले सत्य कुरा पत्ता लगाउन सक्छौं ।
केपी ओली र प्रचण्डले आफ्नो शक्ति आर्जनका लागि गरेको एकतालाई नेकपाका नेता कार्यकर्ताले विचार र संगठनको एकता भनेर बुझ्नु र व्याख्या गर्नु नै अहिलेको समयको सबैभन्दा ठूलो झुट बनेको छ । ओली हिजोका दिनबाट नै माओवादी जनयुद्ध र त्यसबाट प्राप्त उपलब्धिको विषयमा साह्रै पुर्वाग्रही व्यक्ति हुन् । आज ओली यो देशका प्रधानमन्त्री हुन्नथे भने खुल्लमखुल्ला उनी राजतन्त्रको वकालत गर्दै सडकमा नारा लगाइरहेका हुन्थे । संघीयता खारेजी र हिन्दू राज्य स्थापना उनले गर्ने आन्दोलनको मुख्य एजेण्डा बनेको हुन्थ्यो ।
अघिल्लो पटकको निर्वाचनमा भोगेको पराजयबाट उक्लन ओलीले कार्यगत एकताको प्रस्तावमा हस्ताक्षर गरेका थिए । एमाले र एमाओवादीको एकतापश्चात् उनीहरुले नसोचेको मत प्राप्त गरेपछि नेकपामा ओली प्रचण्डको विवाद थप चुलिएको कुरा कसैले नकार्न सक्दैन । स्वास्थ्यमा समस्या देखिएका ओलीलाई २ वर्ष शासन चलाउन दिएर अरु समय आँफैले सरकारमा र सत्तामा राजगाज चलाउँला भन्ने चोर दिमाग लगाएर प्रचण्डले सत्ता सञ्चालनमा फिप्टी–फिप्टीको सम्झौता गर्नसम्म भ्याए । तर सत्य त्यसो भएन, उपचारपछि ओली झन् तंग्रिएर अस्पतालबाट घर फर्किए । जुन कुराले प्रचण्डका सारा सपनाहरु चकनाचुर गरिदियो ।
सधै सत्ताको वरिपरि बसेका प्रचण्डको पारो तातेर आयो । प्रचण्ड कहिले कोसंग त कहिले कोसंग मिलेर ओलीमाथि निरन्तर लागिरहे । थर्काएर ओली थर्किन्छन् कि भनेर थर्काउन थाले । थर्काएर नमानेपछि फकाउन थाले । फकाएर पनि केही सीप नलागेपछि ४ भाइलाई साथमा लिएर बहुमत अल्पमतको खेल खेल्न लागे । आमस्तरमा केपी ओलीको उचाई घटाउन हेगको कुरासम्म गर्न भ्याए । त्यतिले मात्र नपुगेर ओलीविरुद्ध प्रस्ताव पेश गरे । अनि ओलीको काउण्टर प्रस्ताव आएपछि हल न चलको अवस्थामा छन् । प्रचण्डको अस्ली औकात ओलीले आफ्नो प्रस्तावमार्फत् नाङ्गो रुपमा प्रस्तुत गरिदिए ।
ओलीले प्रचण्डलाई अध्यक्ष बन्ने हैसियत नभएको र ३० सिटे पार्टीभन्दा पनि प्रचण्डलाई आत्मग्लानी भएन, बरु पार्टी एकताको मन्त्र जपेर धोती खोलेर मुख छोपिरहे । सायद प्रचण्ड यतिबेला आफ्नो निवासको बार्दलीमा बसेर एक प्याक पिउँदै माओवादी आन्दोलनका बारेमा सोच्दा हुन् । आफ्नो सहयोद्धाहरुलाई फरक विचार राखेको आधारमा पार्टी कार्यालयमा नै लाठी बर्साएर रगताम्य बनाउँदै लखटेको घटना स्मरण गर्दा हुन् । फरक विचार राखेको आधारमा बाबुरामलाई युद्धकालमा गरेको कारवाही सम्झदै पनि होलान् ।
वैद्य बुढाको बौद्धिक क्षमतामाथि लगाएको बहुमत र अल्पमतको डण्डा पनि सम्झँदै होलान् । मरिच खुम्चिए झैं खुम्चिएर नेकपा न छोड्न सक्ने न फोड्न सक्ने अवस्थाका प्रचण्डले दुखी हुँदै आफ्नै विगत यसरी सम्झदा हुन् ।
सहित बेपत्ता परिवारलाई घण्टौं कुर्न लगाएर व्यापारीसँग भेटेको कुरा सम्झेर मनमनै गम्दा हुन् । जीवनमा मैले के पाए र के गुमाए ? हिजो आँफू शक्ति केन्द्रमा रहदाँ गरेको गल्ती सम्झदै उनी एक प्याक सिनित्त पारेर सोच्दा हुन् । हिजो शक्तिमा रहँदा त म नै सबै थोक हो जस्तो लाग्यो, तर आज त्यो भ्रमबाट पनि मुक्त भइयो । मेरो लागि बोलिदिने त कोही बाँकी रहेनन् ।’ सत्ता सञ्चालनमा रहँदा आफ्नो परिवार र गुटका सदस्य बाहिर अरुले लाभ पाएनन् । जनमुक्ति सेना समायोजनमा भएको अपरिपक्क निर्णयले आज हामीलाई गन्न छाडिसकेका छन् ।
हिजो सेनामा लागेकालाई देशमा नै गरिखाने वातावरण बनाएको भए कम्तीमा उनीहरु त मेरो साथमा हुन्थे । तर त्यसो हुन सकेन उनीहरुले पनि खाडीमा गएर मलाई नै गाली गरिरहेका छन् । हतियार मात्र पनि जोगाएर राख्न सकेको भए त काम लाग्यो त्यो पनि खोलामा बगायो भनेर बेचियो । संगठनमा ईमान्दार कार्यकर्तालाई पाखा लगाएर दलाल र ठेकेदारलाई भित्र्याउँदा त्यी पनि मेरो आफ्नो पक्षमा बोल्न सकेनन् । किनकी उनीलाई विचार राजनीतिभन्दा आम्दानी र पैसा ठूलो हुन्छ । अरु नसके पनि सहिद बेपत्ता परिवारको व्यवस्थापनमात्र सही ढंगले गर्न सकेको भए ठूलो राहत हुन्थ्यो त्यो पनि गर्न सकिएन । उनीहरु पनि उल्टै म माथी धारे हात लगाउँछन् ।
उति त उति आफ्नै सहयोद्धाहरुलाई सम्मान गरेको भए मात्र पनि उनीहरु त मेरो पक्षमा बोल्थे होला । तर त्यो पनि पहिले नै धेरै पार्टीमा विभाजित बन्न पुग्यो । यो संकटको समयमा उनीहरु पनि खुच्चिङ गर्दै बसेका छन् ।
अरुले विधि र प्रक्रियाको कुरा गर्दा हाँसो उठ्थ्यो । तर अहिले आँफैले विधि र प्रक्रियाको कुरा गर्नु परेको छ । राजनीतिले कर्नरमा पु¥याएपछि मर्नु न बाँच्नुको अवस्थामा पुगेको छु । जति ठुला गफ गरे पनि आफ्नाहरु गुमाइसकेपछि धरताल कमजोर भएकै छ । धन्न, माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र रामबहादुर थापाले यतिबेला काँधथापि दिएका छन् ।
आफ्नै संगठन नभए पनि माधब र झलनाथको संगठनको बलमा बोल्न सकिएको छ । बादल र वामदेवको भर नै छैन । उनीहरु त कहिले कता कहिले कता हुन्छन् । पहिले म बाबुरामतिर र वैद्यतिर भएजस्तो ।
न म यति बेला अविश्वासको प्रस्ताव लिएर जान सक्छु, न त पार्टी फोडेर नयाँ पार्टीको निर्माण गर्न सक्छु । त्यसैले अहिलेको विकल्प भनेको ओलीसँग रोइकराई गरि केही शक्ति आर्जन गर्छु र ओलीविरुद्ध नै भ्रम छरिरहन्छु ।
व्यथ्र्यै किन विगतको झमेला लिएर बस्नु छ र ? छोरी बुहारी ज्वाईं त सेटल भइहाले । दुनियाँको किन सेटल गर्नु ? ओलीसँग झगडा गर्छु, जे–जे दिन्छन् त्यही–त्यही खान्चु, अरु भाडमा जाओस् ।