चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट २ जनाको निधन

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना भाइरस संक्रमणबाट २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चितवन कै भरतपुर महानगरपालिका वडा नम्बर १७ का ७७ वर्षीय पुरुष तथा मकवानपुरको हटौंडा उपमहानगरपालिका १० की ५७ वर्षीय महिला रहेका छन् ।

भरतपुरका ७७ वर्षीय पुरुषको आज बिहान ५ बजेर १५ मिनेट जाँदा अस्पतालमा ज्यान गएको हो । उनलाई मंसिर ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बस्दा उनलाई ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या उत्पन्न भएपछि मंसिर ५ गते अस्पताल भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनको आइसियुमा राखेर उपचार भइरहेको थियो ।

यस्तै सोही अस्पतालमा कोरोना भाइरस संक्रमणबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० की ५७ वर्षीय महिलाले समेत आज बिहान ६ बजे ज्यान गुमाएकी छिन् । मंसिर ८ गते कोरोना संक्रमण पुष्टि भएपनि ज्वरो, खोकी, श्वासप्रश्वास लगायतका समस्या देखिएपछि उनी मंसिर ११ गते अर्थात् हिजोमात्र अस्पताल भर्ना भएकी थिइन् ।

स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आइसियुमा राखेर उपचार गर्दा समेत बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...