पोखरा । पोखरा महानगरपालिका–१७ रातोपैह्रामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय मंगलबारदेखि खुला गरिएको छ ।
विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले २०७६ चैत ११ देखि सुरु गरेको बन्दाबन्दीका कारण विगत ८ महिनादेखि बन्द संग्रहालय खुला गरिएको हो । नेपाल पर्वतारोहण संघद्वारा स्थापना गरी सञ्चालनमा आएको सो संग्रहालयमा खुला भएको पहिलो दिन ३३ पर्यटकले अवलोकन गरेको संग्रहालयका निर्देशक शंकर गौतमले जानकारी दिएका छन् । उनका अनुसार माक्स, स्यानिटाइजरलगायत स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गरी संग्रहालय सञ्चालनमा ल्याइएको छ । संग्रहालय अवलोकनका लागि विद्यार्थी ५०, नेपाली १ सय, सार्क २ सय र बाह्य पर्यटकलाई ५ सय र गार्डेनको लागि ३० को टिकट व्यवस्था गरिएको छ ।
संग्रहालयमा हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसको जनजीवन झल्कने सामग्रीलगायत विश्वका हिमचुचुरामा आजसम्म भए गरेका गतिविधि, पर्वतमाला, जलवायु परिवर्तनको असर, चट्टान तथा जीवजन्तु राखिएको छ ।
करिब साढे चार रोपनी क्षेत्रफल ओगटेको संग्रहालय भवनमा पर्वतारोहण, पदयात्री, हिउँचिप्लेटी, शिकार, अनुसन्धान, मानवीय गतिविधिका महत्वपूर्ण एवं ऐतिहासिक पक्षको प्रदर्शनी, उपकरण संकलन र जानकारीमूलक सामग्रीसमेत प्रदर्शनमा राखिएको छ ।
नेपाल पर्वतारोहण संघले खरिद गरेको १ सय रोपनी क्षेत्रफल जग्गामा फैलिएको संग्रहालयको बाहिरी भागमा मनास्लु हिमालको प्रतिरुप निर्माण गरिएको बताउँदै निर्देशक गौतमले भने, ‘उक्त मनास्लु मोडल अध्ययन अवलोकनकर्ताका लागि छुट्टै आकर्षण केन्द्र बनेको छ ।’
कोरोना संक्रमणका बाबजुत पनि लामो समयपछि भ्रमणको लागि पर्यटकीय नागरी पोखरा आएका अन्तरिक पर्यटकका लागि संग्रहालय खुलेसँगै थप गन्तव्य बन्ने विश्वास निर्देशक गौतमको रहेको छ ।
कर्मचारी र अवलोकनकर्ताका लागि उचित सतर्कता अपनाइएको उनको दावी छ । रासस