तनहुँसुरमा घरबास सञ्चालन गरिँदै

तनहुँ । तनहुँको ऐतिहासिकस्थल तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी अग्रसर भएका छन् । व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा घरबास सञ्चालनका लागि स्थानीयवासी जागरुक भएका हुन् ।

घरबासमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थानीयबासी घरबास सञ्चालन गर्न लागेको तनहुँसुर सामुदायिक घरबास व्यवस्थापन समितिका उपाध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । सेनवंशीले शासन गरेको तनहुँसुर प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै गएको र यसको प्रचारप्रसारमा जुट्दै घरबास सञ्चालन गर्ने योजनासहित अगाडि बढेको उनले बताएका छन् ।

सो ठाउँमा घरबास सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले अनुदानको व्यवस्था गरेको छ । उनका अनुसार, सामुदायिक घरबास व्यवस्थापन समितिमा अहिले ८ घर आबद्ध छन् । बिस्तारै अन्य घरहरुलाई पनि समितिमा आबद्ध हुने जनाइएको छ । ‘घरबास सञ्चालनका लागि स्थानीयले घरहरु सुधार गर्न सुरु गरेका छन् ।’ उनले भने, ‘तनहुँसुर ऐतिहासिक ठाउँ भए पनि स्थानीयवासीले यसको फाइदा लिन सकेका छैनन् ।’

पछिल्लो समय व्यास नगरपालिकाले अतिथि सत्कार तथा घरबास व्यवस्थापन तालीमसमेत सुरुआत गरेको छ । यही मंसिर १३ गतेसम्म सञ्चालन हुने तालिममा २५ जनाको सहभागिता छ ।

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि घरबासको भूमिका महत्वपूर्ण हुने जनाउँदै ऐतिहासिक एवं सहीद गाउँ तनहुँसुरको प्रवद्र्धनका लागि नगरपालिका जुटिरहेको बताएका छन् । ‘सेन राजाले राज्य सञ्चालन गरेको ठाउँ भएकाले यस ठाउँको प्रचुर सम्भावना छ, त्यसैलाई दृष्टिगत गर्दै घरबास सञ्चालनका लागि नगरपालिकाले पनि सहयोग गर्छ ।’ उनले भने ।

सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले घरबास सञ्चालकलाई स्थानीय उत्पादन, खाना तथा पेयपदार्थको व्यवस्थापन, खानाका प्रकार तथा पकाउने विधि, कटिङ, कुकिङको प्रयोगात्मक कक्षा, भान्सा सजावट तथा व्यवस्थापन, खाना सजावट तथा पस्किने तरिका लगायतका विषयमा प्रशिक्षण दिइने जानकारी दिएका छन् ।

तनहुँसुर पुग्ने खड्गदेवी मोटरमार्गको ६ किमी खण्ड कालोपत्रको तयारी गरिएको वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिएका छन् । संघीय सरकारको ५ करोड र व्यास नगरपालिकाको ५ करोड गरी १० करोड लागतमा सडक कालोपत्रको तयारी भइरहेको छ । उनका अनुसार, हाल सडक फराकिलो, नाला निर्माण र ग्याबिन जाली भर्ने काम भइरहेको छ । ‘तनहुँसुर ऐतिहासिकस्थल भएकाले यसको प्रचारप्रसारमा जुटेका छौं ।’ उनले भने ।

पृथ्वीराजमार्गस्थित घाँसीकुवाबाट १५ किलोमिटरको दूरीमा अवस्थित तनहुँसुरमा सेन वंशीय राजाले राज्य सञ्चालन गर्दाका दरबार, हतियार, भाषण गर्ने गद्दीचौतारो, कालिका मन्दिर, रानीले नुहाउने इनारलगायत अवलोकन गर्न सकिन्छ । तनहुँसुरमा व्यास नगरपालिकाले ३५ लाखको लागतमा शहीद पार्क निर्माण गरेको छ ।

तनहुँसुरबाट हिमश्रृंखला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । केही समय अगाडि पुरातत्व विभागले तनहुँसुर दरबारको उत्खनन गरेको थियो ।

पर्यटन पैदलमार्ग निर्माण सुरु

भानु नगरपालिका–११ मा पर्यटन पैदलमार्ग निर्माण सुरुआत भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा उक्त वडामा बाँसखर्क, काफलस्वाँरा, मिर्लुङकोट पर्यटन पैदल मार्ग निर्माण सुरु भएको हो ।

उक्त पैदलमार्गको गण्डकी प्रदेश सभासद रामबहादुर गुरुङले शिलान्यास गरेका छन् । मिर्लुङकोट भ्रमणका लागि पर्यटकको सहजताका लागि पैदलमार्गले सहयोग पुग्ने उनले बताएका छन् । ‘पैदलमार्गको निर्माणपश्चात् मिर्लुङकोट आउने पर्यटकलाई पैदल हिँड्न सहज हुन्छ ।’ उनले भने, ‘मिर्लुङकोटबाट माछापुच्छ्र«े, अन्नपूर्ण हिमाल, कास्की, चितवन, गोरखा, लमजुङका रमणीय स्थानहरुको अवलोकन गर्न सकिने भएकाले यस ठाउँको प्रचारप्रसारमा जुट्नुपर्छ ।’ मिर्लुङकोट पर्यटन सूचना केन्द्रका अध्यक्ष शम्शेर लम्सालका अनुसार, पैदलमार्ग ४ किलोमिटर लम्बाइ र २ मिटर चौडाइको बन्नेछ । पैदलमार्ग निर्माणका गर्न प्रदेश सरकारले १० लाख विनियोजन गरेको छ । मिर्लुङकोट समुन्द्री सतहदेखि १ हजार ६ सय ४५ मिटर उचाइमा अवस्थित छ ।

व्यासनगरका योजना सम्झौता

व्यास नगरपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा करीब ३ सय योजना सम्झौता गरेको छ । नगरपालिकाले वडा कार्यालयमार्फत गत वर्ष कोरोनाले प्रभावित भएका १ सय ८४ क्रमागत र चालू आर्थिक वर्षको १ सय १५ योजना सम्झौता गरेको जनाएको छ ।

नगरपालिकाले गत वर्ष काम नभएका २ सय ६४ योजना क्रमागतमा राखेको थियो भने चालू आवका लागि नगरसभाले ६ सय ५० योजना पारित गरेको थियो । ती योजना सम्झौता भएर निर्माणको प्रक्रियामा रहेको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताएका छन् । ‘कोरोना कहरले गर्दा गत वर्ष धेरै योजनाका काम हुन पाएनन् ।

चालू आव सुरु भएदेखि नै कोरोनाले थलाएको छ । तर पनि यो वर्ष अधिकांश योजना सम्पन्न गर्ने लक्ष्यका साथ सम्झौता भएर निर्माणको चरणमा छ ।’ उनले भने । सकभर योजनाको काम नभएर बजेट फ्रिज हुने अवस्था नआउने उनले बताएका छन् ।

बन्द क्रसर उद्योग सञ्चालन भएको पाइएपछि

गृह मन्त्रालयको निर्देशनपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित क्रसर उद्योगको अनुगमन गरिरहेको छ । कार्यालयले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित क्रसर उद्योगको २ दिन लगाएर अनुगमन ग¥यो । यहाँ १२ वटा क्रसर उद्योग सञ्चालनमा रहे पनि यसअगाडि जिल्ला समन्वय समितिले ४ वटालाई अवैध भन्दै बन्द गराउन नगरपालिकालाई निर्देशन दिएको थियो ।

त्यसैले अनुगमन टोलीले आठवटा क्रसरको मात्रै अनुगमन गर्ने सूची बनाएर शुक्लागण्डकी –७ भोटेपानीमा सञ्चालित थापा क्रसर उद्योगको अनुगमन गर्दै थियो । सो क्रसर उद्योगको पारिपट्टि शुक्लागण्डकी–५ झरौटास्थित सेती नदी किनारमा प्रोफर कन्सट्रक्सन एन्ड क्रसर इन्डष्ट्रिज सञ्चालनमा छ । प्रोफर यस अगावै बन्द गराउन निर्देशन दिइएको ४ क्रसरमध्येको १ हो ।

अनुगमन टोली पनि प्रोफर बन्द होला भनेर ढुक्कै थियो । तर थापा अनुगमन गर्दैै गर्दा बन्द छ भनिएको प्रोफर खुलेआम सञ्चालान भएको देखेपछि अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले तत्काल त्यहाँ प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएका छन् । निर्देशन पाएपछि खटिएको इलाका प्रहरी कार्यालय बेलचौताराको टोलीले ३ वटा सवारी नियन्त्रणमा लिएको छ । २ टिप्पर र १ वटा लोडर नियन्त्रणमा लिएर शुक्लागण्डकी नगरपालिकालाई बुझाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिएका छन् । ती सवारीलाई नगरपालिकाले कारबाही गर्ने उनको भनाइ छ । ‘हामीले नियन्त्रणमा लिएर नगरपालिकालाई बुझाएका छौं । कारबाहीको अधिकार हामीसँग छैन ।’ उनले भने ।

नियन्त्रणमा लिइएको सवारी नगरपालिका परिसरमा राखिएको छ । प्रशासनको पत्र काटेपछि मात्र नियन्त्रणमा लिइएका सवारीलाई छाड्ने नगरपालिकाले जनाएको छ । जिल्ला अनुगमन समितिले नगरपालिकामा ४, म्याग्दे गाउँपालिकामा १ र बन्दीपुर गाउँपालिका १ क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । रासस

कमेन्टहरु
Loading...