मध्यपहाडी लोकमार्गले गति लिँदै

पोखरा । निर्माणधीन राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको जारी निर्माण एवं आगामी दिनमा गरिने कामका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपध्यक्षसहितको टोलीले स्थलगत अध्ययनलाई अघि बढाएको छ ।

लोकमार्ग अन्तर्गत कास्की, पर्वत र बागलुङको विभिन्न खण्डमा पुगेको टोलीले जारी कामको अनुगमनका साथै कार्य प्रगतिको विवरण लिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले जानकारी दिएका छन् । अनुगमनका क्रममा बागलुङ तथा कास्कीको पोखरा महानगरका विभिन्न स्थानमा काम अघि बढाउन बढ्दो बस्ती विकासलगायतका समस्या देखिएको उनले बताएका छन् ।

समस्या देखिएका स्थानमा सम्बन्धित स्थानीय तह एवं सरोकारवाला सबैको सहयोग तथा समन्वयमा निर्माण कार्यलाई तीव्रता दिनुपर्ने कँडेलको भनाई छ । निर्माणको गुणस्तरीयतामा प्राविधिक पक्षले अत्यन्त महत्व राख्नेमा जोड दिँदै उनले विभिन्न आयोजनाको सफलता सम्बद्ध सबै पक्षको समन्वय र सहकार्यमा निर्भर रहने बताएका छन् ।

विश्वव्यापी महामारीका रुपमा पैmलिएको कोरोना भाइरसको संक्रमणले विकास निर्माणमा प्रत्यक्ष असर परेको बताउँदै उनले संक्रमणको बाबजुद पनि राष्ट्रिय गौरवका आयोजना अघि बढाउन सरकारी पक्षबाट कुनै कसर बाँकी नराखिएको उल्लेख गरे ।

प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियाले लोकमार्ग अन्तर्गत पोखरा महानगर खण्डमा पर्ने २३ किलोमिटर दूरीका सडकका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि काम अघि बढन नसकेको बताएका छन् ।

सडक खण्डका विभिन्न स्थनमा बढ्दो बस्ती विकासलगायतका समस्या रहेकोले सम्वद्ध सरोकारवाला सबैले थप छलफल गरी निर्माण कार्यलाई अघि बढाउन पहलकदमी गर्नुपर्ने उनले आवश्यकता औंल्याए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजना सञ्चालन पूर्व सम्बन्धित स्थानीय तह एवं सम्वद्ध पक्षसँगं छलफल गरिनुपर्नेमा जोड दिएका छन् । विकासका काममा सकेसम्म सर्वसाधारणको कम क्षति हुने गरी गर्नुपर्ने बताउँदै उनले जनताले अधिकतम लाभ पाउने यस किसिमका योजनामा महानगरले आफ्ना तर्पmबाट सहजीकरण गर्ने बताएका छन् ।

मङ्सिर २ गते लोकमार्ग अन्तर्गतको कास्कीको हेम्जास्थित सेती नदी निर्माणाधीन पक्की पुलबाट सुरु गरेको सो टोलीले पर्वत हुँदै बागलुङ, रोल्पा र रुकुमको सङ्गमस्थल बुर्तिवाङ, पातीहाल्ने स्थानसम्म स्थलगत अनुगमन गरेको थियो । सो टोलीले लोकमार्गका साथै सालमण्डी, बुर्तिवाङ ढोरपाटन अर्को सडक आयोजना, कालीगण्डकी करिडोरको राहुघाट र निसीखोला गाउँपालिकास्थित अन्तरगंगा जलविद्युत् आयोजनालगायतका विभिन्न विकास निर्माणको अनुगमन गरेको थियो ।

विक्रम सम्बत २०७५ पुसदेखि शुरु भएको आयोजना अन्तर्गत कास्की, पर्वत र बागलुङ खण्डको कूल २४० किमी क्षेत्रफलमध्ये २०१ किमीमा काम भइरहेको आयोजना प्रमुख मेघराज मरासिनीले जानकरी दिएका छन् ।

उनका अनुसार यस खण्डको बाँकी कास्की र लमजुङ जोड्ने १६ किमीको बोलपत्र आह्वान भइसकेको छ भने कास्कीको पोखरा महानगरपालिका अन्तर्गतको २३ किमी सडक खण्डका लागि निर्माण प्रक्रिया अघि बढेको छैन । आर्थिक वर्ष २०७८/७९ सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म ७५ प्रतिशत काम सम्पन्न भएको र विभिन्न १२ वटा ब्लकमा काम भइरहेको उनले जानकारी दिएका छन् । आयोजनाको यस खण्डका लागि कूल साढे ६ अर्ब रुपैया विनियोजन गरिएको छ । रासस

कमेन्टहरु
Loading...