चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्तीको आक्रमणबाट १ जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो ।
४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती बच्न सफल भएकी छिन् । घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए ।
उक्त शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको जनाएको छ । योसँगै निकुञ्ज र आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट चालु आवमा ज्यान गुमाउनेको कुल संख्या ५ पुगेको छ ।
तीमध्ये ३ जना बाघको आक्रमणबाट, १ जना गैंडाको आक्रमणबाट र १ जनाको जंगली हात्तीको आक्रमणबाट ज्यान गएको हो । यसअघि निकुञ्जको कोर इलाकामा घरपालुवा हात्तीको आक्रमणबाट राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत ज्यान गएको थियो । रासस