दाङ । कोरोना भाइरस संक्रमणबाट दाङमा थप २ जनाको निधन भएको छ । दुवै जनाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा कोरोना संक्रमणबाट निधन भएको हो ।
कोरोनाबाट ज्यान गुमाउनेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का ६७ वर्षीय पुरुष हुन् । उनको शनिबार राति ११ बजेर ५० मिनेट जाँदा अस्पतालमा निधन भएको हो ।
मृतक पुरुषलाई कार्तिक २६ गते कोरोना भाइरस संक्रमण भएपछि २७ गतेमात्र अस्पताल भर्ना भएका थिए । अस्पताल स्रोतका अनुसार उनलाई निमोनिया तथा उच्च रक्तचापको समस्या रहेको थियो ।
यस्तै सोही अस्पतालमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ का ६८ वर्षीय पुरुषको समेत कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । उनको आइतबार बिहान १ बजेर ४० मिनेट जाँदा निधन भएको हो ।
उनलाई निमोनिया तथा मधुमेहको समस्या रहेको अस्पतालले जानकारी दिएको छ । स्वास्थ्यमा समस्या आएपछि मंसिर ४ गते अस्पताल भर्ना भएका उनलाई ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।