स्याङ्जा । दक्षिण कोरियामा रहेका नेपालीले वालिङ नगरपालिकामा १५ हजार थान सर्जिकल मास्क सहयोग गरेका छन् । पेन्थेक माइगे्रन्ट वेलफेयर सेन्टर नेपाली समिति दक्षिण कोरियाद्वारा मास्क सहयोग गरिएको समितिका संयोजक विशाल जिटीले बताए ।
समितिले वालिङ नगरपालिका कार्यालयलाई ८ हजार ५ सय तथा वालिङ नगरपालिका–१३ अन्तर्गतको वडा कार्यालयमा ५ सय, सरस्वती माध्यमिक विद्यालय उदियाचौरमा २ हजार ५ सय, लक्ष्मी माध्यमिक विद्यालय बोधिभञ्ज्याङमा २ हजार, सर्वशक्ति आधारभूत विद्यालय पाठखोलालाई १ हजार र आँधीखोला बहुप्राविधिक शिक्षालय बोधिभञ्ज्याङमा ५ सय गरी कूल १५ हजार थान सर्जिकल मास्क निःशुल्क उपलब्ध गराएको हो ।
‘रोजगारीको सिलसिलामा विदेशमा रहँदा स्वदेशमा कोभिड–१९ को रोकथामका लागि केही न केही सहयोग गर्नुपर्छ भन्ने लागेर रकम संकलन गरी सर्जिकल मास्क पठाएका हौं ।’ संयोजक जिटीले भने, ‘मास्क लगाउन अनिवार्य गरिरहेको अवस्थामा सहजरुपमा मास्क उपलब्ध गराएर कोभिड–१९ को जोखिम रोकथाममा सक्दो सहयोग गर्नमा टेवा पुग्ने विश्वास समितिको छ ।’
कोभिड–१९ को संक्रमणबाट वालिङमा दिन प्रतिदिन जोखिम बढ्दै गइरहेको अवस्थामा ठूलो मात्रामा सर्जिकल मास्क उपलब्ध गराएर कोभिड नियन्त्रणका लागि गरेको सहयोगप्रति नगरपालिकाको तर्फबाट नगर प्रमुख दिलीपप्रताप खाँणले धन्यवाद व्यक्त गरेका छन् । रासस