पर्वत । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण पर्वत जिल्लामा सञ्चालित सञ्चारमाध्यमहरु धरासायी बन्दै गएका छन् । नेपालको चौथो सानो जिल्लाका रूपमा रहेको पर्वतमा सञ्चालित विद्युतीय, छापा र अनलाइन सञ्चारमाध्यमको अवस्था दयनीय बन्दै गएको हो ।
पर्याप्त उद्योग कलकारखालाको अभाव र बन्दाबन्दीका कारण बजारसमेत बन्द भएकाले दैनिक आउने व्यावासायिक विज्ञापन बन्द हुनु र अन्य आम्दानीका स्रोतसमेत नभएपछि सञ्चारमाध्यम र त्यहाँ आबद्ध सञ्चारकर्मी दिनप्रतिदिन समस्यामा पर्दै गएका छन् ।
प्रेस काउन्सिल नेपालले कुश्मा बजारमा आयोजना गरेको ‘कोभिडले मिडियामा पारेको प्रभाव’ बारे अन्तरक्रिया कार्यक्रममा सहभागी स्थानीय सञ्चारमाध्यम सञ्चालक तथा पत्रकारहरुले स्थानीय मिडियामा काम गरेर बिहान बेलुकाको छाक टार्नसमेत मुस्किल परेको जनाएका छन् । पर्वतमा ७ एफएम रेडियो स्टेसन, १ दैनिक पत्रिका, ८ साप्ताहिक पत्रिका, ३ त्रैमासिक पत्रिका नियमितरूपमा सञ्चालन हुँदै आएका छन् । त्यसैगरी झण्डै डेढ दर्जनको हाराहारीमा अनलाइन पत्रिका रहेका छन् ।
साँघुरो विज्ञापनको बजार र बढ्दो सञ्चारमाध्यमको चुनौतीका बीच भित्रिएको कोभिड–१९ को महामारीले गर्दा भएको आर्थिक अभावका कारण सञ्चारमाध्यम बन्द गर्नुको विकल्प नरहेको स्थानीय पञ्चासे एफएमका स्टेशन म्यानेजर लक्ष्मण सापकोटाले बताए । उनले भने, ‘रेडियोहरुमा कार्यरत झण्डै दर्जनको संख्याका सञ्चारकर्मीलाई नियमित पारिश्रमिक, घरभाडा र विद्युत् महसुल तिर्न ऋण खोज्नुपर्ने अवस्था आएको छ ।’ महामारीको बेला राज्यबाट समेत कुनै सहयोग नपाउँदा झनै पीडा हुने गरेको उनले बताए ।
चैत ११ गतेपछि भएको बन्दाबन्दीका कारण रेडियोमा बजिरहेका अधिकांश स्थानीय विज्ञापनको व्यवसायीहरुले भुक्तानी दिन सकेका छैनन्, यस्तो अवस्थामा रेडियो प्रसारणलाई निरन्तरता दिन नसकिने रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायलको दुखेसो छ । उनले भने, ‘कि त बन्द गर्नुप¥यो, कि राज्यले तत्कालका लागि अनुदानको व्यवस्था गर्नुप¥यो ।’ सरकारी निकाय र स्थानीय सरकारसमेत सञ्चारमाध्यमप्रति अनुदार बन्दा निरन्तरता दिन समस्या परेको उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेलले भोको पेटले समाज र नागरिकको सेवामा हिँडिरहनुपरेको भन्दै कोभिडले मुलुकमा सबैभन्दा ठूलो समस्या मोफसलका सञ्चारमाध्यममा परेको बताए । उनले यसका लागि ३ वटै तहका सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा उनको जोड छ ।
प्रेस काउन्सिल नेपालका सदस्य दुर्गा भण्डारीले कोभिड–१९ ले मुलुकभरका सञ्चारमाध्यम समस्यामा परेको बताइन् । बन्दाबन्दीका कारण विज्ञापन रोकिँदा सञ्चार संस्थाहरु ठूलो आर्थिक मन्दिमा परेको उल्लेख गर्दै उनले यसका लागि काउन्सिलले आवश्यक पहल गर्ने बताइन् । उनले सञ्चारमाध्यम पनि जिम्मेवार बनेर महामारीलाई न्यूनीकरण गर्न राज्यको साझेदारका रूपमा काम गर्नुपर्छ भन्दै सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले भोगेको समस्याबारे माथिल्लो तहमा छलफल गर्ने बताएकी छिन् ।
कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले कोरोनाका कारण मुलुक चौतर्फी समस्यामा परेको बताउँदै स्थानीय सरकारले स्रोतले भ्याएसम्म सञ्चारमाध्यमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । उनले राज्यले सञ्चारमाध्यमलाई वास्तविक चौथो अंग मान्ने हो भने समस्या नहुने बताउँदै स्थानीय सरकारलाई सञ्चारमाध्यमप्रति उत्तरदायी बन्न आग्रहसमेत गरेका छन् ।
उनले सूचना विभाग र प्रेस काउन्सिलले काठमाडौं र बाहिरका मिडियालाई एउटै नजरले हेर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासन सहायक महेन्द्र सिंहले प्रेस काउन्सिलको आचारसंहिता र यसको कार्यान्वयको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
जिल्ला अदालतमा मुद्दा फैसलामा ढिलाइ
जिल्ला अदालतमा न्यायका लागि पुगेका पीडितहरू समयमा मुद्दा फैसला हुन नसक्दा झनै पीडित बन्दै गएका छन् । कोभिड–१९ को संक्रमण फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणले समयमा न्याय पाउन सकेका छैनन् ।
पर्वत जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ४ सय ७२ मुद्दा दर्ता भए पनि असार मसान्तसम्ममा २ सय ७१ मुद्दामा मात्रै सुनुवाइ भएको छ । त्यस्तै अघिल्लो आर्थिक वर्षबाटै चालु आर्थिक वर्ष २०७७/७८ मा जिम्मेवारी सरेर आएका २ सय १ र चालु वर्षको असोज मसान्तसम्म नयाँ दर्ता भएका मुद्दा ७० गरी अहिले पर्वत जिल्ला अदालतमा २ सय ७१ मुद्दा कानुनी प्रक्रियामा छन् ।
लामो समयसम्मको कोभिड–१९ को प्रभावका कारण विभिन्न प्रकृतिका मुद्दामा दुवै पक्ष उपस्थित हुन नसक्दा मुद्दा फैसला हुन ढिलाइ भएको पर्वत जिल्ला अदालतका तहसिलदार नन्दप्रसाद आचार्यले बताए । ‘दुवै पक्ष उपस्थित हुन सम्भव भएका केही मुद्दा मेलमिलाप कक्षबाट फछ्र्योट भए पनि लामो समयसम्मका मुद्दा प्रक्रियागतरूपमा नै छन् ।’ आचार्यले भने । उनका अनुसार विशेषगरी जिल्लाबाहिर रहेर न्यायिक प्रक्रियामा रहेका व्यक्ति बन्दाबन्दीका कारण उपस्थित हुन नसक्दा समस्या भएको हो ।
विसं २०७६ चैत ११ बाट असार मसान्तसम्म मात्रै २२ मुद्दा पर्वत जिल्ला अदालतमा दर्ता भएको तथ्यांक छ । सोअनुसार यो बन्दाबन्दीको अवधिमा ३ वटा मुद्दा मात्रै फछ््र्योट भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म सामान्य प्रकृतिका २५ मुद्दा फैसला भए पनि न्याय खोज्दै अदालत आएका व्यक्तिहरू कोभिड–१९ को प्रभावले लामो समयदेखि पर्खाइमा नै रहनुपर्ने अवस्था छ । रासस