आगलागीबाट बागलुङमा २ घर जले

बाग्लुङ । बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ । विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिएका छन् ।

घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्किएको थियो । कायतको ढुंगाको छाना भएको २ तले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए ।

त्यस्तै जैमिनी –१ कुश्मीशेरामा आज बिहान आगलागी हुँदा १ घर जलेको छ । तल्लोबजारको १ गुम्टी पसलमा आगलागी भएको हो ।

कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करिब ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिएका छन् । आगलागीका कारण विकका पसलमा रहेका तिहारका सामान, लत्ताकपडालगायत सबै जलेर नष्ट हुँदा करिब २ लाख २० हजार बराबरको क्षति भएको उनको भनाइ छ ।

आगोका कारण गुम्टी नजिकै मंगल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सका घरमा पनि क्षति पुगेको छ । घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यान्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ । विद्युत् चुहिएकै कारण आगलागी भएको हो ।

आगो स्थानीयवासीको सक्रियतामा कुश्मिसेरामा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको फायर फाइटिङको सहायताले नियन्त्रणमा लिइएको थियो । रासस

कमेन्टहरु
Loading...