मल्कवाङ सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरि गाउँपालिका–५ मल्कवाङ सडक सञ्जालमा जोडिएको छ । प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, म्याग्दीले मराङको बेंसीदेखि आरवाङ–हाङबाङ हुँदै मल्कवाङ जोड्ने सडक निर्माण गरेको हो । मल्कबाङका अमर छन्त्यालले सडकको ट्र्याक (मार्ग) खुलेपछि जीप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेको बताए ।

अल्पसंख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको मल्कवाङमा यसअघि सडक यातायात सुविधा थिएन । आवतजावतका लागि भीर, जंगल र खोल्साको बाटोमा पैदलयात्रा गर्नुपथ्र्यो । ढुवानीका लागि घोडा, खच्चर र भरियामा निर्भर थिए ।

यातायातका साधन सञ्चालन हुन थालेपछि आवतजावतका साथै खाद्यान्न, निर्माण सामग्री ढुवानी र कृषि उपज निकासीमा सहज भएको छ । मल्कवाङ, मलम्पार, भेडिखाल्टाका साथै छिमेकी रघुगंगा गाउँपालिकाको कुइनेखानीका करिब ५ सय घरधुरी लाभान्वित भएका वडाध्यक्ष खर्ककुमारी छन्त्यालले बताएकी छिन् ।

यो सडकले मराङको आरवाङ, रिखा, घण्टीवाङ, हाङवाङका डेढ सय घरधुरीलाई पनि सुविधा पुगेको छ । बेंसीदेखि पैदलयात्रा गरेर मल्कवाङ पुग्न २ घण्टा लाग्थ्यो । गाडीबाट ३० मिनेटमै पुगिन्छ । यात्राअवधि छोटिएको र ढुवानीको भाडा घटेको छ ।

बिरामीलाई अस्पताल पु¥याउन सजिलो भएको छ । पूर्वाधार विकास कार्यालयका अनुसार बेँशीदेखि मल्कवाङ जोड्ने सडकको दूरी ११ किलोमिटर छ । आर्थिक वर्ष २०७५/७६ मा विनियोजन भएको ८० लाख बजेटबाट उपभोक्ता समितिले बेंसीदेखि आरवाङ हुँदै मल्कवाङका सिमानासम्म सडक खनेका थिए ।

कार्यालयका सव–इञ्जिनीयर घनश्याम रोकाले २०७६/७७ मा ७२ लाख ७ हजारमा ठेक्का सम्झौता गरेको अर्गेजा कन्ट्रक्सनले २ हजार ७ सय मिटर सडकको नयाँ ट्र्याक खनेको जानकारी दिएका छन् । ‘गत असारमा खनिएको सडकमा खसेको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन भए पनि ठेक्का सम्झौता अनुसार ६६ प्रतिशत प्रगति भएको छ ।’ उनले भने, ‘यस वर्ष मल्कवाङदेखि भेडिखाल्टा जोड्ने सडक निर्माणका लागि विनियोजन भएको १ करोड २५ लाख बजेटको ठेक्का आह्वान भइसकेको छ ।’

रघुगंगा गाउँपालिकाको पाखापानी– ठाडाखानी हुँदै भेडिखाल्टाको नजिकै सडक पुगिसकेको छ । मल्कवाङदेखि भेडिखाल्टा गाउँ जोडिएपछि यो सडक म्याग्दीको ५ वटा स्थानीय तहलाई जोड्ने चक्रपथ बन्ने बताइएको छ ।

सातवटा वडा रहेको धवलागिरि गाउँपालिकाको गुर्जा बाहेकका वडाको भूगोल सडक सञ्जालमा जोडिएका छन् । वडा न ४ मुदीमा पनि हालै सडक यातायात सुविधा पुगेको छ । रासस

कमेन्टहरु
Loading...