लमजुङका चेपाङलाई दशैँ राहत

गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा रहेका लोपोन्मुख चेपाङ समुदायले बडादशैँ मनाउनका लागि राहत पाएका छन् ।

बेँसीशहर नगरपालिका– ११ चिती बरबोटमाका १० घर र दोर्दी गाउँपालिका –९ भीरकुनाका चार घर गरी १४ घरलाई प्रतिपरिवार १५ किलोका एक बोरा चामल, दुई किलो दाल, एकएक पोका नुन र सोयाबिन, एक लिटर तेल र एक पोका कुकिज सहयोग गरिएको हो ।

सो सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सीमान्तकृत समुदाय चेपाङ गरीब भएका कारण दशैँ मनाउन समस्या भएको थाहा पाएपछि राहत सहयोग गरिएको बताउनुभयो । दशैँ मनाउन चिन्तामा रहेका उनीहरुले राहत पाएपछि धेरै खुशी हुँदै प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए । दशैँ शुरु भएको साताँै दिन अर्थात् फूलपातीको दिनसम्म दशैँ कसरी मनाउने अन्योलमा परेका आफूहरुले राहत पाएपछि रमाइलोसाथ मनाउन सकिने ५७ वर्षीय पूर्णबहादुर चेपाङले बताउनुभयो । स्थानीयवासी तिलकबहादुर चेपाङले भन्नुभयो, “विगतमा दशैँका बेला सहयोग प्राप्त हुँदै आएको थियो । हामीले सहयोगका भरमा दशैँ मनाउँदै आइरहेका छौंँ ।”

वर्षौँदेखि चुहिने घरमा दिन रात कटाउँदै आएका उनीहरुलाई गत वर्ष गण्डकी प्रदेश सरकारले जनता आवास कार्यक्रममार्फत घर बनाएको थियो । उनीहरुलाई उक्त घरले बस्नलाई सहज हुँदै आए पनि अर्थाभावका कारण खान भने समस्या भइरहेको छ । उनीहरु छिमेकीका खेतबारीमा काम गर्दै मुश्किलले जीवन निर्वाह गर्दै आइरहेका छन् ।

उनीहरुले केही वर्ष अघिसम्म मस्र्याङ्दी नदीमा माछा मारेर जीविका निर्वाह गरे पनि पछिल्लो समय जलचर लोप हुँदै गएपछि सो पेशा अँंगाल्न सकेका छैनन् । यहाँका अधिकांश चेपाङ खुलेर आफ्ना समस्या अरुसामु राख्न सक्दैनन् ।

कमेन्टहरु
Loading...