लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले महत्वपूर्ण चाडपर्व दसैं, तिहार, छठ विशेष सुरक्षा योजना २०७७ बनाएको छ । प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाका अनुसार चाडपर्वको समयमा अन्य समयभन्दा धेरै भीडभाड, हुलमुल, जमघट, भेटघाट नगरी शुभकामना आदानप्रदान गर्नुपर्ने भएकाले विशेष सतर्कता अपनाउनु पर्छ ।
अहिले कोरोना भाइरसको जोखिम रहेकाले प्रहरीले विशेष सुरक्षा योजना बनाएको प्रनाउ थापाले बताए । उनले भने ‘दसैं तिहारकै समयमा अपराधिक क्रियाकलाप हुन सक्ने भएकाले नियन्त्रण गर्न कार्यालयमा कार्यरत सबै प्रहरी परिचालन गरिएको छ ।’ थापाका अनुसार मोबाइल गस्ती, राजमार्ग सुरक्षा/अनुमगन गस्ती, मोटरसाइकल गस्ती, पैदल गस्ती, पिकेट डिउटी, चेक प्वाइन्ट, सूचना संकलन, यात्रु सहायता कक्षा, समन्वय टिम बनाएर कार्यरत ३ सय ३२ प्रहरी परिचालन गरिएको छ । चाडपर्वको समय कुनै प्रहरी भइपरी आउने समस्याबाहेक बिदामा नजाने प्रहरी नायव उपरीक्षक थापाले बताए ।
प्रहरीले मोइबाल गस्ती बेंसीशहर, भोटेओडार र भोर्लेटारमा परिचालन गरिएको छ । राजमार्ग सुरक्षा/अनुमगन गस्ती बेसीसहर, भोटेओडा र भोर्लेटारमा, मोटरसाइकल गस्तीमा सबै प्रहरी इकाईबाट, पैदल गस्ती सबै प्रहरी इकाइबाट, पिकेट डिउटी सबै प्रहरी इकाईबाट खटाइएको छ ।
चेक प्वाइन्ट मझुवापुल, उदिपुर, भोर्लेटारचोक, कृषि क्याम्पस चोक, दुईपिप्ले चोक, तिनपिप्ले चोक, खुदी बजनार, सोतीपसल बजार क्षेत्र, पाउदी बजार क्षेत्र र सिउँडीबार बजार क्षेत्रमा छ । सूचना संकलनका लागि शादा पोशाकमा जिल्ला प्रहरी कार्यालयमा २ जना, भोटेओडारमा १ जना, भोर्लेटारमा १ जना, सुन्दरबजारमा १ जना, दुईपिप्लेमा १ जना र तिनपिप्लेमा १ जना खटाइएको प्रनाउ थापाले बताए ।
प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनुसार चाडपर्वको बेलामा अप्रिय घटना हुन नदिन, बाटोघाटोमा हिँड्नेलाई सुरक्षा दिन, कोभिडको बारेमा चेतना दिन, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन, सवारी दुर्घटना हुन नदिन सुरक्षा योजना ल्याएको हो ।