करोडौंको रहस्यमयी भूत बंगलाः हतियार लुकाइयो, मुटु धड्कियो(भिडियोसहित)

राजु गिरी
पोखरा ।पोखरा महानगरपालिका वडा नं. १८ मा अवस्थित आलिशान भवनलाई धेरैले रहस्यका रुपमा हेरिरहेका छन् । यस भवनका विषयमा अनेकन अड्कलबाजी छन् ।

बंगलामा भूत रहेको र बेलाबेलामा मानिसहरुलाई तर्साउने गरेको केही स्थानीयको भनाई छ । पोखरादेखि सराङकोट जाने मुख्य सडककै छेउमा रहेको हुनाले रातको समयमा हिँड्दा डर लाग्ने पोखराका द्रवेश थापा बताउँछन् ।  पोखरा सराङकोट ओहोर दोहोर गरिरहने अशोक थापा पनि त्यस बंगला वरपर तर्साउने गरेको बताउँछन् । उनी भन्छन् –‘दिउसो त्यो बाटो हिँड्दा केही जस्तो लाग्दैन तर साँझ र रातीको समयमा त्यस बाटो हुँदै जान प¥यो भने मुटुले काम गर्न छोड्छ ।’

२ वर्ष अघि राती ११ बजे सराङ्कोट जाने क्रममा त्यहाँ पुग्दा आफ्नो स्कुटरको स्टार्ट नै बन्द भएको र अचम्मखालको डरलाग्दो आवाज आएको थापाको अनुभव छ । डरले सिमा नाघेपछि उनले तत्कालै ओरालोतर्फ स्कुटरलाई फर्काएर केही पर पुगेपछि स्टार्ट गरी पोखरानै फर्किएको उनी बताउँछन् । यो उनको मनको डर पनि हुन सक्छ । केही स्थानीय त्यस स्थानमा तर्साउने कुरामा सहमत छन् भने केहीले मनको डर भएको बताएका छन् । तरपनि रातको समयमा त्यस स्थानमा मानिसहरु हिड्न डराउने स्थानीयहरुको अनुभव छ ।

बंगलाका बनावट हेर्ने हो भने करोडौं रुपैयाँ खर्च भएको अनुमान गर्न सकिन्छ । दुई दशक अगाडी बनेको उक्त बंगला अहिले लथालिङ्ग अवस्थामा छ । लामो समय कोही पनि नबसेका कारण भूत घरका रुपमा चित्रित गरिएको हुन सक्ने जानकारहरु बताउँछन् । अहिले भएकै बंगलालाई सामान्य मर्मत गरेर प्रयोगमा मात्रै ल्याउने हो भनेपनि रिसोर्ट, होटल वा अरु कुनै व्यवसाय मज्जैले चल्न सक्छ । त्यहाँका स्थानीयले रोजगारी पाउन सक्छन् भने संञ्चालकले लाखौ आम्दानी गर्न सक्छन् । त्यो विषयमा यस सम्पत्तिका मालिकले सोचे पनि होलान् तर अहिलेसम्म कुनै संकेत देखिदैन । त्यसैले यसलाई भूत बंगलाका रुपमै चिन्ने गरिन्छ । त्यत्तिमात्रै होईन कोही कसैले सहजै जान नमान्ने ठाउँलाई द्वन्द्वकालीन समयमा द्वन्द्वरत पक्षले हतियार लुकाउने काममा समेत बंगलालाई प्रयोगमा ल्याएको कथन पनि छ ।

उक्त भवनलाई भूत बंगला भन्नु एकदमै गलत भएको साढे दुई वर्षदेखि बंगलाका चौकिदार गरिरहेका तिलोचन दाहाल बताउँछन् । उनी भन्छन् –‘नबुझेको मानिसहरुले भूतघर भन्दै ढुङ्गाले सिसा फुटाल्ने, बिगार्ने काम गरेका हुन् । यहाँ भूत छैन । पहिला पहिले लागु औषध प्रयोग गर्नेहरु यस बंगलाभित्र आउथे । तिनीहरुलेनै आफु सुरक्षित हुनको लागि यहाँ भूत छ भनेका हुन् ।’

कोही छैन भनेर यसरी अरुको भवनका संरचना बिगारिदिनु एकदमै गलत भएको उनको भनाई छ । यसरी लथालिङ्ग हुनुमा भवन मालिकको गल्ती रहेको चौकीदार दाहाल बताउँछन् । उनी भन्छन् –‘गल्ती भवन मालिककै हो । यती धेरै लगानी गरेर बनाईसकेपछि संरक्षण गर्नुपर्दैन ? यहि भवनलाई रिसोर्ट वा कुनै व्यवसाय संचालन गरे मालिकलाई पनि केही हुन्थ्यो र यहाँका स्थानियले पनि रोजगारी पाउँथे ।’

यति लामो समयसम्म लथालिङ्ग अवस्था र त्यसमाथी जंगलमा रहेकाले भूत बंगला हो भन्दा धेरैले पत्याउनु स्वभाविक रहेको दाहाल स्वीकार्छन । २१ औं शताब्दिमा पनि भूत छ भन्नु मुर्खता रहेको उनको बुझाई छ । उक्त भवनलाई भूत बंगला भन्ने झुठो आरोप लगाईएको उनी बताउँछन् । उनका अनुसार बंगलाका मालिकसँग अहिलेसम्म देखभेट भएको छैन । साथै फोन सम्पर्कमा कहिलेकाँही कुरा हुने उनी बताउँछन् । बंगलाका मालिक हाल जापानमा रहेको चौकीदार दाहालले बताए । त्यसो त भवनका मालिक चानचुने व्यक्ति होइनन् । गैर आवासीय संघका अध्यक्षसमेत भइसकेका देवमान हिराचनको बंगला हो यो । के, कस्ता कारणले करौडौं रुपैयाँ खर्चेर उनले बंगला लथालिंग छाडे, उनै जानुन् ।  बंगलाको  क्षेत्रफलमात्रै करिब २६ रोपनी छ ।

यसरी आलिशान बंगला बनेर संरक्षण नुहुन निकै दुःखको कुरा भएको स्थानिय बताउँछन् । निकै सम्भावना बोकेको उक्त बंगला लामो समयसम्म लथालिङ्ग हुनु धेरैको चिन्ताको विषय बनेको छ । शुन्दर शान्त र पर्यटकको मन बहलिन सक्ने उत्कृष्ट स्थानको आलिसान बङगाला भने यसरी लथालिङ्ग अवस्थामा हुनुले पर्यटनको सम्भावना बोकेको एउटा आकर्षक गन्तव्य सधै भूत बङगलाकै रुपले चिनिने त होईन भन्ने आशंका पनि उस्तै छ ।

कमेन्टहरु
Loading...