रासस, साउन १४ ।
बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेराकी उमेरले ३९ वर्ष पुगेकी तुलसी थापा पोखराको बोर्डिङ स्कूलमा पढाउँदा–पढाउँदै डिभी प¥यो । डिभी परेको सत्य भएपनि थापालाई सुरुमा पत्याउन मुस्किल प¥यो । साथीको लहडमा डिभी भरेकी थापा डिभी परेको यथार्थ भएपछि खुसी र उत्साहले फुरुङ्ग बनिन् ।
छोरीलाई डिभी परेपछि तुलसीका ६६ वर्षीया आमा हरिकला थापालाई गाउँ, छिमेकी र आफन्तले भनेका थिए, ‘ओहो १ तिमी र तिम्री छोरी त कति भाग्यमानी रहेछौ । छोरी अब अमेरिका जाने भइछिन् ।’ डाइभर्सिटी भिसा (डिभी) को सबै प्रक्रिया पूरा गरेर २०७५ कात्तिक १५ गते तुलसी अमेरिका उडिन् ।
अमेरिकाको टेक्सास सहरमा आफन्तको सहयोगमा काम पनि मिल्यो । दिन राम्रै चल्दै थियो । तुलसीको व्यक्तिगत र पारिवारिक जीवनमा खुसी नै खुसी झुल्दै थियो । तुलसी अमेरिका पुगेपछि नै हो–बूढेसकाल लागेकी आमाले स्मार्ट फोन देखेको । तुलसीले नै आमासँग भिडियो कल गर्नुपर्छ भनेर स्मार्ट फोन पठाएकी थिइन् । अझ घरमा इन्टरनेट जोड्ने भनेकी थिइन् । सबै खालको प्रयास गर्दा पनि गाउँमा सजिलै इन्टरनेट जोड्न नसकेपछि तुलसीले अमेरिकाबाट दिदीलाई भनिन्, ‘आमालाई डाटा लिएर भिडियो कल गर्न सिकाइ दिनु ।’
२ दिदीबहिनी र १ दाजुमध्येकी कान्छी छोरी हुन् तुलसी । अमेरिकाबाट पछिल्लो पटक मंसिरमा पैसा पठाउँदा तुलसीले दिदीसँग भनेकी थिइन्, ‘आमालाई सुनका बाला बनाइदिनु ।’ अमेरिका पुगेपछि तुलसीले पटक–पटक दोहो¥याइरहन्थिन्, ‘बाबा बितिहाल्नुभयो, आमालाई अमेरिका ल्याएर घुमाउने रहर छ ।’ तर आमालाई अमेरिका घुमाउने रहर मात्र होइन, तुलसीको जीवनका सारा सपना अमेरिका पुगेको १४ महिनामै टुटेको छ । २०७६ पुस १० गते बिहान बाथरुममा नुहाउँदा नुहाउँदै बेहोस भएकी तुलसीको अस्पताल पु¥याउँदापु¥याउँदै ज्यान गयो । तुलसीको ज्यान गएको ८ महिना बिते पनि आमा हरिकलाको आँखा भने अझै ओभाएका छैनन् ।
छोरीले अमेरिकाबाट ७०/८० हजार पठाउँदा खुसीले फुरुंग हुने तुलसीकी आमा छोरीको नामले राहतस्वरुप रु १० लाख पठाउँदा पनि अनुहारमा कुनै उत्साहको रंग देखिएन । बरु भाव सून्य भएर एकहोरो आँखाबाट अश्रुधारा बगिरह्यो । अमेरिका पुगेको छोटो समयमै सामाजिक अभियानमा पनि सक्रिय थापा नेपाल मगर संघ टेक्सास कमिटीको सदस्य भएर काम गरिरहेकी थिइन् । थापाको निधनपछि अमेरिकामै रहेको नेपाल मगर संघ अमेरिकाले राहत संकलन अभियान चलाएर संकलित १० लाख ५८ हजार ७ सय ६४ को चेक तुलसीका आमा हरिकलालाई बागलुङ बजारमा हस्तान्तरण गरियो । हातमा १० लाखको चेक पर्दासमेत आमा हरिकलाका आँसु र बहिनीको माया र सम्झनाका सामु १० बराबर पनि नभएको तुलसीकी दिदी मनकुमारी बताउँछिन् । ‘पैसा सबै कुरा होइन रहेछ ।’, उनले भनिन्, ‘बहिनीको मृत्युपछि हाम्रो दुःख पीडालाई कम गराउन मगर संघ अमेरिकासँगै विभिन्न संघसंस्थाले धेरै सहयोग गर्नुभएको छ, हातमा पैसाका बिटा भए पनि त्यसमाथि बहिनीका आँसुका बाछिटा छन् जस्तो लाग्छ ।’
विदेश गएपछि पैसाका लागि अनवरत काम गर्नुपर्ने विवशता भए पनि आफ्नो जीवन र स्वास्थ्यको पनि विशेष ख्याल गर्न बिर्सन नहुने तुलसीका आफन्त तथा स्थानीय तारा थापाले बताइन् । ‘पैसा मात्र केही होइन रहेछ, मुख्यतः जीवन नै हो, बाध्यताले जहाँ जहाँ जानु परे पनि स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्छ भन्ने पाठ यो घटनाले पनि दिएको छ ।’, थापाले भनिन्, ‘अहिले विदेशमा भएका सबैजसो व्यस्त छन्, तर आफू र आफ्नो जीवन बिर्सिरहेका छन् । यो हाम्रा लागि निकै महँगो सावित हुन सक्छ, जतिसक्दो ख्याल गरौँ ।’