पोखरा, १३ साउन / अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा पर्यटक आउने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्ष यस आर्थिक वर्षमा २०७५/०७६ मा अहिले सम्मकै सबैभन्दा धेरै पर्यटक आएका छन् ।
यस आर्थिक वर्षमा १ लाख ८१ हजार ६ सय ७९ जना विदेशी पर्यटकले पदायत्रा गरेका छन् । यो संख्या अघिल्लोे आर्थिक बर्ष भन्दा भन्दा ८ हजार ८ सय १८ ले बढि हो । यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रमा २०७४/०७५ मा सबैभन्दा धेरै १ लाख ७२ हजार ८ सय ६१ जना विदेशी पर्यटकले एक्याप क्षेत्रको पदयत्रा गरेका थिए ।
आर्थिक वर्ष २०७३/०७४ मा १ लाख ४४ हजार १ सय ९८ जना पर्यटकले एक्याप क्षेत्रमा पदयत्रा गरेका थिए । २०७४/०७५ मा १ सय ६० देशका पर्यटकले एक्याप क्षेत्रमा पदयत्रा गरेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा सार्क मुलुकका ४९ हजार ५ सय ४८ जना पर्यटकले पदयात्रा गरेका छन् ।
सार्क मुलुक बाहेकका विदेशी पदयात्रुको संख्या १ लाख ३२ हजार १ सय ३१ रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का सूचना अधिकृत ऋषि बरालले जानकारी दिए । एक्याप क्षेत्रको पदयात्रामा गर्ने महिलाको संख्या उल्लेख्य रुपमा बढेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गर्ने सार्क मुलुक बाहेकका विदेशी महिलाको संख्या ५९ हजार ५ सय ८८ रहेको छ ।
यसै गरि सार्क मुलुकका देशका २३ हजार ९ सय ६६ जना महिलाले अन्नपूर्ण क्षेत्रको पदायत्रा गरेका छन् । यस पदयात्रा क्षेत्रमा कुल ८३ हजार ५ सय ५४ विदेशी महिलाले पदयात्रा गरेको सूचना अधिकृत बरालले जानकारी दिए ।
फ्रान्सेली नागरिक मोरिस हर्जाेगले पहिलोपटक ८ हजार मिटरभन्दा अग्ला हिमालमाथि पहिलो विजय प्राप्त गरे पछि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन सुरु हो । विसं २००७ सालको जेठ २१ गते मौरिस हर्जाेगले ८ हजार ९१ मिटर अग्लोलो अन्नपूर्ण प्रथम हिमालको आरोहण गरेका थिए । हर्जाेगल अन्नपूर्ण प्रथम आरोहण गरे संगै अन्नपूर्ण पदयात्रा क्षेत्र र नेपालले विश्वमै चर्चा पाएको थियो ।
पदयात्रुको आगमन बढे पनि पछिल्लो समयमा यहाँको पदयात्रा मार्गमा सडक विस्तार हुँदा पर्यटकको बसाई घटेको छ । प्रदेशमा सबैभन्दा धेरै अन्नपूर्ण क्षेत्रको पदयात्राकालागि पर्यटक आउन गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजा (एक्याप)को तथ्याङ्कबाट देखिएको छ ।
पछिल्लो समयमा लोमान्थाङ, तिलिचो ताल, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल लगायतका पदयात्रा क्षेत्रमा बढि संख्यमा पर्यटक जाने गरेका छन् ।
कास्कीको मादी गाउँपालिका स्थित नेपालकै कम उचाइमा रहेको कपुचे हिमताल पछिल्लो समयमा पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ७ हजार मिटर भन्दा उच्च अन्नपूर्ण हिमालबाट खसेर समुन्द्र सतह देखि २५ सय मिटर उचाइमा बनेको कपुचे हिमताल स्वदेशी तथा विदेशी पर्यटकमाझ आकर्षण बन्दै गएको टान पोखराको पूर्व अध्यक्ष दिपक अधिकारी बताउँछन् । म्याग्दी तर्फका अन्नपूर्ण नर्थ बेस क्याम्प पनि पर्यटकको आकर्षणको रुपमा विकास हुँदै गएको छ ।