पोखरामा खानेपानी शुद्धीकरण आयोजना शिलान्यास, तीन वर्षमा सम्पन्न हुने

पोखरा, २९ जेठ/पोखरामा खानेपानी शुद्धीकरण आयोजना निर्माणको काम सुरु भएको छ । नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा अहिले वितरण भइरहेको मर्दी खोलाको पानीलाई प्रशोधन र शुद्धीकरण गरि पिउन योग्य बनाई पोखरामा वितरण गर्ने गरी आयोजना सुरु भएको हो ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार पोखरा खानेपानी सुधार विस्तार आयोजना अन्तर्गत मर्दि मुहानबाट उत्पादन हुने पानी प्रशोधन केन्द्र निर्माण कार्यको मंगलबार शिलान्यास गरिन् । शिलान्यास संगै पोखरेलीले वशौं देखि प्रतिक्षा गरेको शुद्ध पिउन योग्य खानेपानीका लागि प्रशोधन केन्द्रको निर्माण कार्य पोखरा १९ पुरन्चौरमा अघि बढेको छ ।

आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री बिना मगरले स्वच्छ खानेपानी र सरसफाई मौलिक अधिकार भएकोले यस तर्फ सरकार सचेत रहेको बताइन् । पोखराको खानेपानी सुधार विस्तार आयोजना समय सिमा भित्रै सम्पन्न हुने विश्वास गर्दै मन्त्री मगरले पोखराको बढ्दो जनसंख्यालाई पनि ध्यान दिएर क्षमता बढाउनु पर्नेमा जोड दिइन् ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले एक वर्ष भित्र गण्डकी प्रदेशमा आधारभूत खानेपानी र ४ वर्षमा एक घर एक धारा पु¥याइने सुनाए । शिलान्यास कार्यक्रममा नेपालकालागि जापानी राजदुत मासामिसि साइगोले नेपाल जापानको सम्वन्ध प्रागाढ हुनु पर्नेमा जोड दिदै नेपालको विकासमा जापान सधै हातोमालो गर्न तयार रहेको बताएका थिए ।

नेपाल खानेपानी संस्थानले अहिले उपभोक्तालाई प्रशोधन नगरी सोझै खोलाको पानी टंकीमा जम्मा गरि पाइपबाट घर घरमा वितरण गर्दै आएको छ । बर्षा याममा हिलोमाटो नै घर घरका धारामा झर्ने र खोलामा फ्याकीएका फोहोर सोझै ग्राहकको घरमा पुग्ने समस्या यो योजना संचालनमा आएपछि अन्त्य हुने छ । खानेपानीको मुहान मर्दी खोलाको ड्याम भन्दा केही तल पुरन्चौरमा पानी प्रशोधन केन्द्र निर्माण हुँदै छ ।

जापान सरकारको कुल अनुदान मध्ये ४ अर्व २१ करोडमा सिभिल कार्यकालागि जापानमै बोलपत्र आह्वान भएको थियो । जस मध्ये हाजमा एन्दो कर्पेरेसन कम्पनीले ८.२ प्रतिशत कममा बोलपत्र कबोल गरेको हो । हाजमा एन्दो कर्पोरेसन कम्पनीले ३ अर्व ९४ करोड २७ लाख रुपौयाँमा खानेपानी शुद्धीकरणको ठेक्का पाएको छ ।

यसकालागि खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी समेत निमार्ण हुने छ । पोखराको पस्याङ, फूलवारी र कोलपाटनमा रिजर्भरवायर टं्याकी निर्माण गरिने छ । आयोजना काम शुरु भएको तीन वर्ष भित्र सकिने छ । पोखरामा खानेपानीको ग्राहक ४५ सय छन् । यो योजनाबाट ४ लाख २५ हजार लाभान्वीत हुने नेपाल खानेपानी संस्थान पोखराका कामु सहायक प्रवन्धक इन्जिनियर निरण महर्जनले जानकारी दिए ।

पोखराको खानेपानी शुद्धीकरण प्लान्ट, नेपालको खानेपानीको दोस्रो ठूलो आयोजना (यस्तो बन्दै)

मर्दी खोलाबाट साढे ४ करोड लिटर पानी दैनिक उपयोग हुँदै आएको छ । पोखराको भोटीखोला, कालीमुडा, धारापानी, ५ वटा बोरीङ लगायतबाट दैनिक १ करोड लीटर पानी गरेर साढे ५ करोड खानेपानी उत्पादन हुँदै आएको छ । पोखरामा दैनिक ६ करोड लीटर पानीको माग रहेको छ । पोखराको खानेपानी शुद्धीकरण आयोजना मेलम्चीपछिको ठुलो खानेपानी योजना हो । सन् २००४ देखि नै खानेपानी शुद्धीकरण योजनाको अध्ययन अघि बढे पनि जापान सरकारको अनुदान सहयोगमा आयोजनाको काम बढेको हो ।

कमेन्टहरु
Loading...