पोखरा, ८ कार्तिक/ करिब ११ वर्ष पहिले पोखरा रंगशालामा खिचेको तस्बिरले एसिसि अर्वाड पायो । जतिबेला पोखरा रंगशालाभित्र क्रिकेट मैदान बनेको थिएन । जताततै ढुंगैढुंगा थिए । ढुंगे मैदान थियो । त्यही ढुंगे मैदानमा क्रिकेट प्रेमी बलिङ र व्याटिङ गरिहेका थिए ।
उत्तरमा हिमाल खुलेको थियो । हिमालको काखमा ढुंगे मैदानमा क्रिकेट खेलिरहेको फोटोलाई एसिसी(एशियन क्रिकेट काउन्सिल) उत्कृष्ठ फोटोको उपाधि दिलायो । पोखराका फोटो पत्रकार सुदर्शन रन्जितले खिचेका थिए ।
समय फेरिएको छ । मैदान बनेको छ । त्यही मैदानमा शुक्रबार देखी टी–२० क्रिकेट प्रतियोगिता पोखरा प्रिमियर लिग हुदैैछ । जुन प्रतियोगितालाई क्रिकेटको सर्वोच्च संस्था आईसिसी (इन्टरनेशनल क्रिकेट काउन्सिल)ले मान्यता दिएको छ ।
‘सन् २००७ को फोटोले दिलाएको अवार्डले पोखरालाई अन्तर्राष्ट्रिय रुपमा चिनायो।’ नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत टमटाले भने–‘आईसिसीले पिपिएललाई दिएको मान्यताले पोखरालाई एक्पोजर गराउँछ ।’
एसिसीको अवार्ड र आईसिसीको मान्यताले पोखरालाई क्रिकेटको शहरको रुपमा विकास हुने पोखराका खेल प्रमिको अपेक्षा छ । पोखरालाई क्रिकेटको अन्तर्राष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्ने लक्ष्य पनि बेला बेलामा सुनिदै आएको छ ।
तर त्यसको लागि आवश्यक पुर्वाधार बनाउनुपर्ने खाँचो भने पोखरेली क्रिकेटप्रेमीले औल्याएका छन् । पिपिएलको पहिलो संस्करण सबैलाई चासो छ । राष्ट्रिय क्रिकेट खेलाडी, विदेशी खेलाडीसँग घरेलु खेलाडीले पनि सहभागिता जनाई एक्पोजरको मौका पाउने कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देलले बताए ।
अहिले प्रतियोगिताका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पीच बनिसकेको छ भने हरियो घाँसे मैदान बनिसकेको छ । कात्र्तिक ९ गतेदेखि शुरु हुने प्रतियोगितामा छ वटै फ्रेन्चाईज टोलीका कप्तानको उपस्थितिमा पीचमा बलिङ गरेर परीक्षण गरिने छ ।
पिपिएलले स्पोर्टस टुरिज्मको पहिलो खुडकिलो भएको पर्यटन व्यवसायीको ठम्याई छ । पर्यटन व्यवसायीहरु आईसिसीको मान्यता पाएको पिपिएलले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखरा स्पोर्टस डेष्टिनेसशनको रुपमा परिचियत हुने विश्वासमा छन् भने खेलाडीले एक्पोजर पाने विश्वासमा छन् ।