पोखरा, ११ असार /पूर्व युवराज पारस शाह यतिबेला पोखरामा छन् । गोरखाको गोरखनाथको दर्शन पछि पोखरा आएका पूर्व युवराज पारस यतिबेला आफ्ना शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाटमा व्यस्त रहेका छन् ।
पोखरामा उनको भेटघाटको व्यवस्थापन रेशम गुरुङले गर्दै आएका छन् । पोखराको लेकसाइडमा रेण्टुरेण्ट व्यवसाय गर्दै आएका रेशमका अनुसार पूर्व युवराज पारसले आइतबार बिहान पोखरा रंगशालमा पुगी खेलाडीहरुसँग भेटघाट गरेका छन् । बिहान सात बजेतिर रंगशाला पुगेका पूर्व युवराज पारससँग खेलाडीहरुले खेलकुदमा लागेर नाम मात्र भएको तर भविष्य सुनिश्चित नभएको धारणा राखेका थिए । बिहानको भेटघाटमा करिब ४० जनाजति सबै विधाका खेलाडीहरु सहभागी भएको भेलामा सहभागी समसेर गुरुङले जानकारी दिए ।

सो अवसरमा खेलाडीहरुले खेलकुदमा लागेर सम्मान पाए पनि त्यो सम्मान सम्मानमै सिमित रहेको,खेलकुदमा लाग्नेहरुलाई कसैले नहेरेको तथा खेलकुदमा पनि राजनीति हावी भएको गुनासो गरेका थिए । पोखरा रंगशालामा पानीको अभाव भएको गुनासो समेत उनीहरुले पूर्व युवराज पारसलाई सुनाएका थिए । खेलाडीहरुको कुरा सुनेपछि पूर्व युवराज पारसले आफू पहिलो पटक खेलाडीहरुको कुरा सुन्न आएको र तपाईँ हामी मिलेर अगाडि बढ्नु पर्छ भनेका थिए ।
‘हामी पनि जनता नै हो, खेलकुदलाई के सपोर्ट गर्न सकिन्छ हामी विचार गर्छौँ’, पूर्व युवराज पारसको भनाई उधृत गर्दै रेशमले भने,‘हामी यतिबेला राजसंस्था चाहिन्छ भन्नेमा हैन कि नेपाल कसरी जोगाउन सकिन्छ भन्नेमा छौँ ।’ खेलाडीसँगको भेटघाटमा बिलासी जीवन चटक्कै छाडेर स्वामी बनेका पूर्व प्रहरी महानिरीक्षकका छोरा प्रबञ्जनबहादुर सिँह र अनिल बस्नेत पनि सहभागी थिए । प्रबञ्जनले आफू पहिले कराँतेको खेलाडी रहेको बताउँदै खेलकुदबारे जिज्ञासा राखेका थिए ।

पूर्व युवराज पारसले यस पटक पोखरा बस्दा सामान्य नागरिकहरुसँगको भेटघाट बाक्लो मात्र बनाएका छैनन्,शुभेच्छुकको आग्रहमा उनीहरुसँगै खाना खाने र शुभेच्छुकहरुको आग्रहमा उनीहरुले भनेको ठाउँमा रात समेत बिताएका छन् । यसअघि उनी यहाँको फिस्टेल लजमा बस्ने गर्थे । गए राति पूर्व युवराज पारसले पोखरामा रहेको प्याराडिसो रेष्टुरेण्टमा शुभेच्छुकहरुसँग बसेर मेक्सिको र कोरियाबीचको फुटबल खेल हेरे भने लेकसाइडकै आल्मोण्ड क्याफेमा दिउसको खाना खाए । आइतबार बिहानको शुभेच्छुक रेशमकै रेष्टुरेण्टमा ब्रेकफास्ट खाए ।

‘जनताको कुरा सुन्न जनतासँगै बस्नुपर्छ भन्ने बुझेर सरकार अहिले साथीहरुकहाँ बस्नु भएको हो’,रेशमले भने,‘उहाँसँग भेट्न चाहनेहरु असाध्यै धेरै छन् , समय मिलाउन गाह्रो भएको छ ।’ रेशमका अनुसार पारससँग ठकुरी समाजका पदाधिकारी, नेपाली काँग्रेसका नेतादेखि सर्वसाधारण र युवावहरुले आ–आफ्नो गुनासो सुनाएका छन् । उनीहरुको कुरा सुनेपछि पूर्व युवराज पारसले ‘हिन्दु राष्ट्र भएको भए राम्रो हुन्थ्यो तर अहिले पनि हामी सबै जातजाति र धर्म मान्नेहरु मिलेर नेपाललाई बचाउनुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । उनलाई भेट्न पुगेका काँग्रेसी नेताले परिचय गोप्य राख्न आग्रह गर्दै हिन्दु राज्य र संवैधानिक राजतन्त्रले मात्र देशको भलो गर्ने आफ्नो धारणा रहेको सुनाएका थिए । पूर्व युवराज पारस अझ एक दुई दिन पोखरामै बस्ने कार्यक्रम रहेको छ ।