बिजयपुर बमकाण्डमा आफ्नो संलग्नता नरहेको नेकपा कास्कीको दावी

पोखरा, १० फागुन/नेपाल बन्दका क्रममा पोखराको बिजयपुरमा बम विष्फोट भई पत्रकार घनश्याम पाण्डे लगायत दुई जना घाइते भएकोमा नेपाल कम्युनिष्ट पार्टी कास्कीले दुःख प्रकट गरेको छ । नेकपा कास्कीका सेक्रेटरी रुपेशले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख प्रकट गरेका हुन् । उनले सो घटनामा आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेका छन् ।

उनले आफ्नो विज्ञप्तिमा अघि भनेका छन्, “ षड्यन्त्रमुलक ढंगले सो घटनासँग पार्टीलाई जोड्न खोजिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जिल्लामा बिगतदेखि हरेक घटनामा हाम्रो पार्टीलाई जोडेर नेता कार्यकर्तालाई गिरफ्तार गरी झुठ्ठा मुद्दा लगाइएको थियो । हाल पनि बन्द लगत्तै नन्दलाल तिवारी, पुष्प कार्की, खड्ग राई लगायतलाई गिरफ्तार गरी बिस्फोटक पदार्थ सम्बन्धि मुद्दामा फँसाउने षड्यन्त्रमुलक कदमको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ ।”

आफ्नो पार्टीले अघि बढाएको भ्रष्टाचार, रास्ट्रघात र दलालविरुद्धको संघर्षबाट आतंकित बन्दै अमुक दलाल संसदबादी नेताको दबाबमा कास्की प्रसासनले आफ्नो पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दुःख दिएको पनि उनले आफ्नो विज्ञप्तिमा आरोप लगाएका छन् ।

उनले आफ्नो विज्ञप्तिमा गिरफ्तार गर्ने, झुटा मुद्दामा फँसाउने, ठूलो रकम धरौटी माग्ने ,मानसिक यातना दिने ,कोठा र घर खानतलासी गर्ने शहरका भिताहरुमा लेखिएका नाराहरु मेट्ने, राजनीतिक सभा–सम्मेलन बिथोल्ने, गिरफ्तारीमा परेका कार्यकर्ताको रिहाईसँगै जफत गरिएका अध्ययन सामग्री लगायतका सामान फिर्ता नगरेको आरोप लगाएका छन् ।

कमेन्टहरु
Loading...