पोखरा महानगरपालिका वडा नम्बर–२७ मा रहेको राईजिङ्ग स्टार युथ क्लबले माघ २१ गतेदेखि २४ गतेसम्म नवौँ वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ।
“सभ्य समाजको निर्माण, राईजिङ्ग स्टार युथ क्लबको अभियान” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष अनिल गुरुङले युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको बताए।
क्लबको वार्षिक कार्यक्रमअन्तर्गत यस वर्ष पनि खेलकुदलाई प्राथमिकतामा राख्दै युवालाई खेलमार्फत अनुशासन, शारीरिक तथा मानसिक स्वच्छताबारे सचेत गराउने लक्ष्य रहेको अध्यक्ष गुरुङको भनाइ छ। प्रतियोगितामा करिब १५ वटा टिमको सहभागिता रहने विश्वास उनले व्यक्त गरे।
पोखरा महानगरपालिका वडा नम्बर–२७ को भण्डारी टोलस्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद एक लाख ११ हजार १११ रुपैयाँ, उपविजेताले ५५ हजार ५५५ रुपैयाँ तथा तृतीय हुने दुई टिमले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने क्लबले जनाएको छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब आठ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने प्रायोजक, सहप्रायोजक तथा सहयोगी संघ–संस्थाबाट करिब १० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। प्रतियोगिताबाट बचत हुने रकम खेलकुद क्षेत्रमै खर्च गर्ने क्लबको योजना रहेको छ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर–२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले खेलकुद विकासका लागि वडाबाट तीन लाख रुपैयाँ विनियोजन गरिएको जानकारी दिँदै खेलाडीहरूले खेलमार्फत अनुशासन सिक्ने भएकाले प्रतियोगिता सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न वडाले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाए।
क्लबका अध्यक्ष अनिल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष विष्णु गुरुङ, प्रविण गुरुङलगायत वक्ताहरूले खेलकुदले शारीरिक र मानसिक स्वास्थ्यसँगै अनुशासन र सकारात्मक सोच विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए।
२०८२ माघ १९ गते आईतवार
राईजिङ्ग स्टार युथ क्लबले नवौँ वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने
कमेन्टहरु