नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपाका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । कार्यालयको नेकपाका केन्द्रीय सचिव तथा साविक नेकपा एसका गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले उद्घाटन गरे ।
कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सचिव बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको र नयाले सम्हाल्ने स्थिति नरहेकाले नेकपाको जित अपरिहार्य रहेको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङले देशको निकास र विकासका लागि नेकपाले जित्न आवश्यक रहेको बताए । कास्की क्षेत्र नम्बर १ को विकासमा विगतदेखि वर्तमानसम्म नेकपाका नेताहरुको भूमिका रहेको भन्दै उनले भने, ‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङसम्म, दीपक कोईरालादेखि गायत्री गुरुङसम्मले यस क्षेत्रको विकासमा योगदान दिनुभयो, मैले पनि वर्षमान पुन अर्थमन्त्री भएका बेला उहाँको राजनीतिक सल्लाहकारको रुपमा बस्दा यहाँ ३५ करोड भन्दा बढीको योजनाहरु परेर विकासका लागि योगदान गरेको छु ।’ उनले विकासको विरासत धान्न पनि कास्की क्षेत्र नम्बर १ नेकपाले जित्नुपर्नेमा जोड दिए ।
नेकपा गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङले देश बनाउने एक मात्र पार्टी नेकपा भएको बताईन् ।
नेकपाका केन्द्रीय सदस्य दीपक कोईरालाले विकास र समृद्दिको बाहक नेकपा भएकाले तारा चिह्नमा मतदान गरेर बिजयी गराउन कास्केली जनतालाई आग्रह गरे ।
कास्की क्षेत्र नम्बर १ का नेकपाका चुनावी कमाण्डर सोमती गुरुङले नेकपाको नीतिमा देश अगाडि बढिरहेकाले नेतृत्व पनि नेकपाले लिनका लागि नेकपाले जित्नुपर्ने बताईन् । कमाण्डर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य पूर्ण लामाले स्वागत मन्तव्य र कल्पना पाण्डेले सञ्चालन गरेकी थिईन् ।