‎सरकारी जागिरको नियुक्ति त्यागेर राजनीतिमा होमिएको तीन दशक—संसद्‌को दौडमा अधिकारी

कमल सुवेदी ,पोखरा
‎सुविधायुक्त सरकारी जागिरले जीवन सहज बनाउँछ भन्ने विश्वास अधिकांश मानिसमा हुन्छ। कास्कीका बैनबहादुर अधिकारी क्षेत्रीले पनि यही अवसर पाएका थिए। वि.सं. २०५३ साल चैतमा लोक सेवा आयोगबाट प्रशासन सेवा, लेखा समूह, राजपत्रांकित पाँचौँ तहमा उनको नाम सिफारिस भयो। भविष्य सुरक्षित हुने ढोका खुलेको थियो। स्वाभाविक रूपमा उनी खुसी थिए।
तर त्यही समय कास्कीको राजनीतिक परिवेश निर्णायक मोडमा थियो। तत्कालीन अवस्थामा एमालेको कमान्ड  नेताहरु  सोमनाथ अधिकारी ‘प्यासी’ र खगराज अधिकारीले सम्हालिरहेका थिए। पार्टी संगठन सुदृढीकरणको चरणमा रहेको बेला नेकपा एमालेले बैनबहादुर अधिकारीलाई पूर्णकालीन रूपमा पार्टी काममा होमिन आग्रह गर्‍यो। नेताहरू सोमनाथ अधिकारी र खगराज अधिकारीको आग्रहपछि उनले सुरक्षित सरकारी जागिर त्याग्ने साहसी निर्णय गरे। व्यक्तिगत भविष्यभन्दा पार्टी र विचारलाई प्राथमिकता दिँदै उनी पूर्णकालीन कार्यकर्ताका रूपमा संगठन निर्माणमा सक्रिय भए।
‎त्यसयता पार्टीप्रतिको समर्पण र जिम्मेवारी उनको जीवनको स्थायी पहिचान बनेको छ। संगठन विस्तार, आन्दोलन, निर्वाचन र पार्टी सञ्चालनका हरेक चरणमा उनी सक्रिय रहे। यही निरन्तर योगदानका कारण हाल उनी नेकपा एमाले कास्की जिल्ला अध्यक्षको जिम्मेवारीमा छन्।
‎अब अधिकारी जनप्रतिनिधि बन्ने उद्देश्यसहित प्रत्यक्ष जनमतको मैदानमा उत्रिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्। लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र निरन्तर क्रियाशीलताका आधारमा जनताको माया र विश्वास पाउनेमा आफू विश्वस्त रहेको उनी बताउँछन्। संगठनभित्रको गहिरो अनुभव, कार्यकर्तासँगको घनिष्ठ सम्बन्ध र जरा गाडिएको राजनीतिक यात्राका कारण अधिकारी कास्की–१ मा लोकप्रिय रहेको एमालेजनको दाबी छ।
‎कास्की–१ को चुनावी प्रतिस्पर्धा पनि चर्को देखिएको छ। नेपाली कांग्रेसबाट तिलक रानभाट, नेपाली कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट खडक पौडेल ‘गणेश’ उम्मेदवार बनेका छन्।

‎बाल्यकालदेखि राजनीति

बैनबहादुर अधिकारी क्षेत्रीको जन्म वि.सं. २०२९ सालमा कास्की जिल्लाको साविक कालिका गाविस–३, पिपलडाली (हाल पोखरा महानगरपालिका वडा नं. २८) मा भएको हो। उनका बुबा स्वर्गीय धनबहादुर अधिकारी र आमा धनुमाया अधिकारी क्षेत्री हुन्। साधारण परिवारमा हुर्किएका अधिकारीमा बाल्यकालदेखि नै सामाजिक चेतना र राजनीतिक चासो देखिन्थ्यो।
विद्यालय जीवनमै उनी राजनीतितर्फ आकर्षित भए। मात्र १० वर्षको उमेरमै राजनीति बुझ्ने प्रयास गरेका उनले वि.सं. २०३९ सालमा अनेरास्ववियुको सदस्यता लिएर आफ्नो राजनीतिक यात्राको औपचारिक सुरुआत गरे। पढाइसँगै संगठन निर्माणमा सक्रिय रहँदै वि.सं. २०४३ सालमा जनज्योति माध्यमिक विद्यालयमा तत्कालीन अनेरास्ववियु एकता पाँचौँको प्रारम्भिक कमिटी अध्यक्षको जिम्मेवारी सम्हाले।

विद्यार्थी राजनीतिबाट सुरु भएको यो यात्रा क्रमशः पार्टी संगठनको मूलधारमा प्रवेश गर्‍यो। अनुशासन, संगठनप्रतिको निष्ठा र निरन्तर सक्रियताका कारण उनी पार्टीभित्र विश्वासिलो कार्यकर्ताका रूपमा चिनिँदै गए। यही निरन्तरता, अनुभव र योगदानले उनलाई आज सम्सदको यात्रामा  र जनताको मत माग्ने अवस्थामा पुर्‍याएको छ।
‎तीन दशकभन्दा लामो राजनीतिक यात्रामा सरकारी सेवाको मोह त्यागेर पार्टी र विचारलाई रोजेका बैनबहादुर अधिकारी क्षेत्री कास्की एमाले राजनीतिमा एक अनुभवी, प्रतिबद्ध र संगठनप्रेमी नेताका रूपमा परिचित छन्। अब उनको यो लामो राजनीतिक योगदानलाई मतदाताले कसरी मूल्याङ्कन गर्छन् भन्ने चासो कास्कीको राजनीतिक वृत्तमा बढ्दो छ।

कमेन्टहरु
Loading...