पोखरा महानगरपालिका वडा नम्बर–३३ बाघमारामा सुविधा सम्पन्न बाटो निर्माण भएपछि स्थानिय हर्षित भएका छन् । वर्षौंदेखि जिर्ण सडकमा हिंड्न बाध्य उनीहरु अहिले पोखरा महानगरपालिकाको पहल तथा विश्वबैंकको सहयोगमा दोबिल्ला–बाघमारा–लामेआहाल–पुँडीटार सडक खण्ड बन्न थालेपछि हर्षित भएका हुन् । पृथ्वी राजमार्ग अन्तर्गत कोत्रेबाट दोबिल्लाहुँदै विरौटा निस्किएर स्याङ्जा जाने बैकल्पिक सडकका रुपमा हेरिएको यो सडकको भौतिक प्रगती पुगनपुग ४० प्रतिशत हुँदा मात्रैपनि यसले स्थानियको जीवनमा सकारात्मक प्रभाव पार्न थालेको छ । बाघमारा क्षेत्रमा भने सडक पिच भइसकेको छ भने सौन्दर्यकरणको काम भइरहेको छ ।
सडक निर्माणसँगै बाघमारा–पोखराको बाटो समय अवधि छोट्टिएको छ । जसले गर्दा पोखरामा जागिरे भएकालाई घरबाटै आवतजावत गर्न सजिलो भएको छ । भने स्थानिय उत्पादनलाई पोखरा बजारसम्म ल्याउन सहज भएको छ । यसले समय छोट्टिनुका साथै स्थानिय उत्पादनले बजार पाएको पोखरा महानगरपालिका वडा नम्बर–३३ का अध्यक्ष रामचन्द्र अधिकारीले बताए । उनले भने,‘बाटो राम्रो भएपछि स्थानिय उत्पादनले बजार मात्र पाएन, मूल्यसमेत पाएको छ ।’ उनका अनुसार बाटो बनेसँगै बाटोको समयअवधी घटेसँगै ढुवानी खर्चपनि घट्नुका साथै यसले रोजगारीपनि सिर्जना गरेको छ । कृषिमा स्थानिय आकर्षितहुँदा लगानीपनि बृद्धि भएका कारण यसले रोजगारीसमेत बढाएको उनको दाबी छ ।
जनप्रतिनिधि लिलादेवी केसीले सडक निर्माण भएसँगै स्थानिय जनता कृषिमा आकर्षित भएको बताईन् । पहिलेपनि कृषि नै थियो स्थानियको मुख्य पेशा, तर स्थानिय उत्पादनले बजार नपाउँदा निराश थिए,उनले भनिन्,‘अहिले सडक निर्माणले गर्दा उत्पादित वस्तु सिधै पोखरा लगेर बेच्दा खपत बढेको छ, र पहिले भन्दा मूल्यपनि बढी पाएपछि उहाँहरु कृषिमा पुनः आकर्षित हुनु भएको छ ।’
पोखरा–३३ पहिले सुन्तला खेतीका लागि प्रख्यात थियो । तर अहिले सुन्तलामा रोग लागेर मासिदै गएपछि मौषमी तथा बेमौषमी तरकारी खेतीमा आकर्षित भएको उनले जानकारी दिईन् । सडक निर्माणसँगै कृषि एम्बुलेन्सलेसमेत स्थानिय उत्पादन बजारसम्म लैजान सघाउने गरेको उनले बताईन् । उनले भनिन्,‘उत्पादित तरकारी लिन कृषि एम्बुलेन्स आउँछ । कतिपयले भने आफैले पोखरा लगेर बेच्छन् ।’
स्थानियले सडक छिटो सम्पन्न गर्न दवाब दिने गरेको वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए । सडकको दायाँबायाँ लगाइएको मापदण्डमा स्थानियको चित्त नबुझ्दा सडक निर्माणमा ढिलाई भएपनि अब भने निर्माणले रफ्तार लिने उनको विश्वास छ । हाम्रो वडामा धेरैजसो समस्या समाधान भइसकेको छ,उनले भने,‘सायद अब चाँडै निर्माण सम्पन्न होला ।’
पोखरा महानगरपालिकाका प्रमुख ९मेयर० धनराज आचार्यको पहलमा निर्माण गरिएको यो सडक खण्ड १२.४४ किलोमिटरको छ । यसको निर्माण गर्ने ठेक्का आशिष निर्माण सेवाले ७७ करोड ६८ लाखमा लिएको छ । गत असारमा एक वर्ष भित्रमा बनाईसक्ने भनिएपनि विभिन्न कारणले नसकिएपछि एक वर्ष म्याद थपिएको छ । यस सडक खण्डमा सडकको दायाँबायाँ साइकल ट्रयाक निर्माण गरिनेछ भने सडकमा फुटपाथपनि रहनेछ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो खण्डसँगै पोखरामा विश्वबैंकको सहयोगमा ३ वटा सडक निर्माण भइरहेको बताए । उनका अनुसार तालचोक–बेगनास र शिसुवा–सिसाघाट सडक खण्डपनि निर्माणको क्रममा रहेको छ । पोखराले क्रमैसँग भौतिक पूर्वाधारमा फड्को मारिरहेको उनले बताए । तर केहि मान्छेहरु केहि भएन भनेर भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ,उनले भने,‘भए, गरेका कामलाई ए गरेछ है भनेर स्याबास् भन्ने गरौं । पोखरामा विश्वबैंक, एसियाली विकास बैंक, जाईकालगायतको सहयोगमा २७ अर्ब लगानी भित्रिएको र आयोजना सम्पन्न भएपछि पोखराले विकासमा छलाङ मार्ने उनको दाबी छ ।