शिक्षा पन्त्त, लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) जगदीश रेग्मी साउन महिनामा गण्डकी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले उनको कामको कदर गर्दै प्रदेशकै ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । यो उपाधिबाट आफूमा जनताको पक्षमा रहेर, पीडितको पक्षमा काम गर्ने थप हौसला मिलेको रेग्मीले बताए ।
पर्वत जिल्लाको फलेवास नगरपालिका– १०, कुर्घामा स्थायी बसोबास भएका प्रहरी निरीक्षक रेग्मी २०७८ बैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालय लमजुङमा कार्यरत छन् । प्रहरी निरीक्षक रेग्मीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट साउन महिनामा सर्वोत्कृष्ट प्रहरी घोषित भई सो उपाधिबाट सम्मानित भएकोमा आफूलाई जिम्मेवारी थप भएको र अझै कर्तव्यनिष्ठ भएर पदीय जिम्मेवारी सम्पादन गर्न थप प्रेरणा र उर्जा मिलेको बताए । रेग्मी २०७२ सालबाट खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
इन्स्पेक्टर रेग्मीले सांगठनिक मुल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरेको हुनाले उनलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशीले जानकारी दिए ।
प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेशमा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई अबदेखि हरेक महिना निरन्तर रुपमा पुरस्कृत गरिने डीआईजी जोशीले बताए ।