वंशिलाघाट : वारिपारि बाटो बन्यो, बनेन पुल

खोटाङ / खोटाङको बराहपोखरी गाउँपालिका-५ पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटस्थित सुनकोसीमा पक्की पुल अभावमा स्थानीय सकसपूर्ण यात्रा गर्न बाध्य छन् । सदियौंदेखि ढुंगा सञ्चालन हुँदैआएको वंशिलाघाटमा २०७५ सालमा झोलुङ्गे पुल बने पनि मोटरेबल पुलको अभावमा खोटाङको दक्षिणी क्षेत्रका नागरिक सकसपूर्ण यात्रा गर्न बाध्य छन् ।

झोलुंगे पुलले वंशिलाघाटको डुंगा विस्थापित गरे पनि गह्राैँ  सामान झोलुङ्गे पुलबाट तार्न सकस भइरहेको मौवाबोटेका वडासदस्य हरिबहादुर मगरले बताए । झोलुंगे पुल बन्नुअघि बंशिलाघाट नजिकै रहेको बुवाँजोरघाटमा काठको डुंगा चलाउने गरिन्थ्यो । ‘वंशिलाघाटमा पक्की पुलको आवश्यकता छ । तर, बन्ने छाँट छैन,’ वडा सदस्य मगरले भने, ‘पुल नहुँदा भोजपुर वा  फोक्सिङटारको बाटो प्रयोग गर्नुपर्ने हुन्छ । झोलुंगे पुलबाट गह्राैँ सामान वारपार गराउन सकिँदैन ।’

वंशिलाघाट खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पूर्वी शहर बाहिरिने र भित्रिने प्रमुख नाका हो । वंशिलाघाटमा बनेको झोलुंगे पुलबाट स्थानीयको दैनिक बाक्लो ओहोरदोहोर भइरहन्छ । जन्तेढुंगा र बराहपोखरीका स्थानीयले उदयपुरको बेलटार, बसाहा लगायतका बजारबाट वंशिलाघाट तारेर दैनिक उपभोग्य सामग्रीदेखि सिमेन्ट, रड लगायतका निर्माण सामग्री भित्र्याउने गरेका छन् । वंशिलाघाटको वारि र पारि कच्ची सडक बनिसकेको र मालबाहक सवारी साधन ओहोरदोहोर गरिरहेको भए पनि मोटरेबल पुल निर्माण नहुँदा स्थानीय उपभोग्य सामग्री ढुवानीमा समस्या झेल्न बाध्य बनेको कांग्रेस जन्तेढुंगा सभापति बाजिन्द्र बिष्ट बताउँछन् ।

वंशिलाघाट तराईबाट नुनदेखि सुन भित्र्याउने तथा सुन्तला, अलैंची, अम्लिसो, तेजपात लगायतका स्थानीय उपज निर्यात गर्ने द्वार हो । वंशिलाघाटबाट सुनकोसी पार गरेपछि उदयपुरको बेलटार हुँदै इटहरी, विराटनगर, धरान लगायतका सहर पुगिन्छ । वंशिलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बने पनि मोटरेबल पुल निर्माणका लागि अझै सुरसार हुन नसकेको स्थानीयको गुनासो छ ।

जन्तेढुंगा गाउँपालिकाको चिसापानी बजारबाट मौवाबोटे–पौवासेरा हुँदै बंशिलाघाट पुग्ने कच्ची सडक २०७२ सालमा बनेको हो । उदयपुरतर्फ २०७० सालअघि छुइलासम्म र २०७२ देखि छुईलाबाट वंशिलाघाटसम्म सडक विस्तार भएको थियो । बंशिलाघाटबाट पैदल अढाइ घण्टामा बेलटार झरिन्छ ।
वंशिलाघाटबाहेक खोटाङको दक्षिणी क्षेत्रको प्रमुख नाका चमेरेघाट (मौवाबोटे) र धाप्लाङघाट पनि हो ।

चमेरेघाटमा २०३६ सालदेखि झोलुंगे पुल सञ्चालनमा छ । झोलुंगे पुल रहेको धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको चरणमा छ । तर, निर्माण कम्पनीको ढिलासुस्तीका कारण पुलको काम अलपत्रको अवस्थामा छ । चमेरेघाटबाट पनि बेलटार पुगिन्छ । धाप्लाङघाटबाट गाईघाट पुगिन्छ ।
बेलिब्रिज राख्न मुख्यमन्त्रीलाई हारगुहार  

खोटाङका गठबन्धन दलले वंशिलाघाटमा पक्की पुल निर्माण नभएसम्मका लागि फेरी वा बेलिब्रिज जडानको माग गरेका छन् । कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई ८ चैतमा मागपत्र बुझाउँदै वंशिलाघाटमा यातायातका सवारी साधन ओहोरदोहोर गर्न मिल्नेगरी फेरी वा बेलिब्रिज जडानको व्यवस्थाका लागि माग गरेका हुन् ।

-दमन राई

कमेन्टहरु
Loading...