काठमाडौं / अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) प्रतिनिधिसभामा पेस भएको छ । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आइतबारको प्रतिनिधिसभा बैठकमा पेस गरेका हुन् ।
संसदमा पेस गर्ने विषयमा सत्तारुढ दल माओवादी केन्द्रको असहमति रह्यो । एमसीसी संशोधनविना सदनमा पेस गर्न नहुने माओवादी अडान आफ्नै निर्णयविपरीत रहेको पुष्टि भएको छ ।
२५ माघ २०७५ मा बसेको मन्त्रिपरिषद् बैठक स्वीकृतिअनुसार तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले ३० असार २०७६ मा संसदमा दर्ता गरेका थिए । तर, अहिले प्रतिनिधिसभा बैठकमा पेस गर्ने बेलामाा विरोध जनाएका हुन् ।
प्रतिनिधिसभामा एमसीसी पेस गर्न स्वीकृत दिने मन्त्रिपरिषद्ले निर्णय गर्दा माओवादीका ६ जना मन्त्रीले सहमति जनाएका थिए । सो निर्णय गरेको मन्त्रिपरिषद् बैठकमा माओवादीबाट तत्कालीन गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री मातृका यादव, वनमन्त्री शक्तिबहादुर बस्नेत र खानेपानीमन्त्री वीना मगर सहभागी थिइन् । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा अहिले एमालेमा छन् । उनी एमसीसीबारे केही बोलेका छैनन् । तर, बाँकी नेताहरू अहिले पनि माओवादी छन् । उनीहरूले एमसीसी सदनमा पेस गर्ने विषयमा विरोध जनाए ।
सरकारले सदनमा पेस गरिसकेपछि आफ्नो धारणा बनाउन एमालेले बताउँदै आएको छ ।