पोखरा । कविताको अघोषित पाठ्शालाका रूपमा परिचित पोखरेली युवा साँस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४० औं शृङ्खला शनिबार पोखरामा सम्पन्न भयो ।
काव्य सन्ध्यामा नेपाल सङ्गीत नाट्य प्रज्ञाप्रतिष्ठान संस्थापक सदस्य सचिव एवम् परिवारका सल्लाहकार संस्कृतिकर्मी तीर्थ श्रेष्ठले ३ दशकसम्म अविछिन्न रुपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै यसको प्रभाव मूल्याङ्कन र शोध गर्न आवश्यक भएको बताए ।
काव्य सन्ध्यामा कवि तीर्थ श्रेष्ठ, डा. चैतन्य अधिकारी, ई. कौशलचन्द्र जिसी, डा. ईश्वरमणि अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, दिपेन्द्र पहारी, उमेश रेग्मी, शरद भण्डारी, प्राञ्जल लगायतका कविहरूले आआफ्ना रचना सुनाएका थिए ।
‘साहित्य, कला र सङ्गीतको उत्थान ः हाम्रो प्रण’को गुञ्जनका साथ विक्रमाब्द २०३४ सालमा स्थापना भएको पोखरेली युवा साँस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रि स्तरमा परिचित छ ।
कोभिड–१९ को महामारीले डेढ वर्ष परिवारले भर्चुअल कवि गोष्ठी गरेको थियो । निषेधाज्ञा खुलेपछि पहिलो पटक भौतिक रूपमा हिमालय रिडर्स कर्नरमा कार्यक्रम आयोजना गरिएको थियो । परिवारका सहसचिव शिव त्रिपाठीले आमन्त्रित कविहरूलाई स्वागत गरेका थिए । अध्यक्ष मोती भुजेलको सभापतित्वमा सम्पन्न काव्य सन्ध्याको सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।