कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, “प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण” प्राथमिकतामा

अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले कोभिड प्रभावित अमेरिकी मध्यमवर्गको उत्थान एवं “बिर्सिएका” अमेरिकी श्रमिक वर्गलाई पुनर्जीवन दिन खर्बौं डलरको आर्थिक प्याकेज आवश्यक परेको बताए।

कोभिड–१९ विरुद्धको व्यापक खोप अभियानको सफलताको प्रशंसा गर्दै कङ्ग्रेसमा राष्ट्रपति बाइडेनले अमेरिकी जनतामा आत्मविश्वास जागृत भएको बताए। उनले भने , “अमेरिका अब पाइला चाल्न पूरै तम्तयार अवस्थामा पुगेको छ । हामी काम गर्न समर्थ भएका छौं, सपना देख्न थालेका छौं, अन्वेषण र खोजमा अघि बढिसकेका छौं, र विश्वलाई नै नेतृत्व दिन तयार भइसकेका छौं ।”

राष्ट्रपतिको कार्यभार सम्हालेको १०० दिन पुगेको पूर्वसन्ध्यामा बाइडेनले अमेरिकी इतिहासमै खोप अभियानमा सफल उपलब्धि हासिल भएको बताए।

उनले अहिलको राष्ट्रिय प्रयत्नलाई देशको अर्थतन्त्र पुनर्निर्माण गर्ने तथा दोस्रो विश्वयुद्ध देखिकै सर्वाधिक ठूलो विषय बनेको रोजगारी योजनामा रहेका विमतिलाई हटाएर समानतामा ध्यान केन्द्रित गर्नुपर्ने बेला आएको बताएका छन् ।

राष्ट्रपति बाइडेनले पूर्ववर्ती डोनाल्ड ट्रम्पले भनेझैं अमेरिकी श्रमिक वर्गलाई बेवास्ता गरिएको बर्ताए। उनले माथिल्लो एक प्रतिशत निकै धनी भएको बताउँदै अमेरिकी श्रमिकलाई पनि एउटा अवसर सिर्जना गर्न आफूले योजना अघि सार्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “तिब्र गतिमा भइरहेको आर्थिक परिवर्तनबीच तपाईंले आफूलाई पछि छाडिएको र बिर्सिएको अनुभूति गर्नु भएको हुन सक्छ । म तपाईंहरुसँग सोझै कुरा गर्न चाहन्छु ।”

अमेरिकी प्राइमटाइम टेलिभिजन सम्बोधनमा प्रायः राष्ट्रपति बाइडेनले एउटा भनाई सार्वजनिक गर्ने गरेका छन् , त्यो हो अमेरिकाले पुनः गति लिएको छ । उनले सामान्यतया कोरोनाभाइरसको महामारीबाट सिर्जित विपदलाई अमेरिकाले सुल्झाउन लागेको तथा ट्रम्प प्रशासनले निम्त्याएको अस्थिरता समाप्त भएको बताउने गरेका छन् ।

राष्ट्रपति बाइडेनले ट्रम्पको कार्यकालमा पुगेको क्षतिलाई उल्ट्याएर अन्तर्राष्ट्रिय साझेदारीलाई आफ्नो विदेश नीतिले पुनः सम्बोधन गर्न लागेको बताए ।

उनले ट्रम्पका एकलकाँटे नीतिको आलोचना गर्दै कङ्ग्रेसमा भने , “कुनै पनि मुलुक एक्लै सफल हुन सक्दैन ।”

चीनका सम्बन्धमा राष्ट्रपति बाइडेनले बेइजिङले सर्वोच्चता वा एकाधीकार खोजिरहेको भए पनि आफूहरुले चीनसँग प्रतिस्पर्धा गर्न चाहेको तर कुनै किसिमको द्वन्द्व नचाहेको स्पष्ट पारे ।रासस

कमेन्टहरु
Loading...