ओलीद्वारा बनाइएको स्थायी कमिटीमा गौतम समेटिए, नेपाल परेनन्

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । अध्यक्ष ओलीद्वारा गठन गरिएको स्थायी कमिटीमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समुहका कुनै पनि नेता परेका छैनन् ।

तर अर्का नेता बामदेव गौतमलाई भने राखिएको छ । स्थायी कमिटीमा माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादलसहित, ईश्वर पोखरेल, बामदेव गौतम, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, लेखराज भट्ट, मणि थापा, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, केशव बडाल, पुष्पराज कँडेल, रघुवीर महासेठ लगायत छन् । त्यस्तै ओली आफैं समेत स्थायी कमिटीमा छन् ।

यस्तै आजको बैठकले कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेका ४ सांसदलाई निष्कास्न गर्ने निर्णय भएको छ । कर्णाली प्रदेशसभामा पार्टी संसदीय दलको ह्वीपको अवज्ञा गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले ४ जना सांसदलाई नै निस्काष्न गर्ने निर्णय गरेको हो । निस्काष्न भए पनि अ ब ४ जना सांसदको नै सांसद पद नरहने भएको छ ।

यसरी कारवाहीमा पर्नेमा प्रकाश ज्वाला, अमर थापा, कर्मराज शाही तथा नन्दसिंह बुढा रहेका छन् । उनीहरु ४ जनाले नै कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई संसदीय दलको ह्वीपको अवज्ञा गरेर विश्वासको मत दिएका थिए । यता मत दिएर सच्याएको भन्दै एमालेले देवी ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले माधवकुमार नेपाल पक्षका नेताले पार्टीलाई एकताबद्ध बनाउन कुनै पहल नगरेको आरोप लगाएका छन् । पार्टी खोस्ने ढंगबाट कोही आएको खण्डमा त्यो सम्भव नभएको ओलीको स्पष्टोक्ति थियो ।

आफूले पछिल्लो समयमा नेता नेपालसहित योगेशकुमार भट्टराई लगायतसंग भेटेको भन्दै अध्यक्ष ओलीले भेटेका नेतामा पार्टी जोगाउनुपर्छ भन्ने भावना नदेखेको बताएका छन् । मााअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेता नेपाल पनि बढी महत्वकांक्षी भए पछि नै कम्युनिस्ट पार्टी विभाजन भएको उनको भनाई छ । पार्टी विभाजनको अवस्थामा नभएको भए पनि आफूहरुको सम्बन्ध शत्रुतापूर्ण बनिसकेको प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बताएका छन् ।

कमेन्टहरु
Loading...