एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

काठमाडौं । पार्टीभित्रको विवाद र समसामयिक राजनीनिक विषयमा छलफल गर्न नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा पार्टीविरोधी गतिविधिमा लागेका नेतालाई सोधिएको स्पष्टीकरण, अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच पछिल्ला दुई दिनमा भएका भेटवार्ता आदिको समीक्षा हुने जनाइएको छ ।

यही वैशाख ६ गतेको बैठकको निर्णयका आधारमा एमालेले कर्णाली प्रदेशसभामा पार्टीको औपचारिक ह्वीप उल्लंघन गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका पक्षमा मतदान गर्ने प्रदेशसभाका प्रकाश ज्वालासहित ४ सदस्य र यसअघि निलम्बनमा परेका नेता झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायत ३२ जनालाई २ दिनभित्र जवाफ माग्ने गरी स्पष्टीकरण सोधेको थियो ।

पहिलो बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव ईश्वर पोखरेलको सांगठनिक प्रतिवेदन छलफलपछि पारित भइसकेको छ । एमालेले आगामी मङ्सिरमा दशौँ महाधिवेशन आयोजना गर्ने तय गरेको छ । रासस

कमेन्टहरु
Loading...