काठमाडौं ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूलाई कसैले पनि कारवाही गर्न नसक्ने जिकिर गरेका छन् ।
केही समय अगाडि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विधि तथा विधानविरुद्ध विभिन्न कार्य गरेको भन्दै नेता नेपालसहित अन्य केहीलाई कारवाही स्वरुप पार्टीबाट निस्काष्न गर्ने घोषणा गरेका थिए । सोही विषयलाई लिएर नेता नेपालले आज बिहान जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै आफूलाई कसैले पनि कारवाही गर्न नसक्ने बताएका हुन् ।
कसैले कारवाही गर्न नसक्ने र आन्दोलनबाट नभाग्ने तथा संगठन नछोड्ने नेता नेपालको भनाई थियो । अहिले आफूसंग बहुमत भएको उनको दावी छ । बहुमत आफ्नो साथमा भए पनि ओलीलाई आफूले कारवाही नगर्ने उनले बताएका छन् ।
पार्टी अध्यक्ष ओलीको दम्भ धरहराभन्दा माथि पुगेको समेत उनले कार्यक्रममा बताएका छन् । ‘केपी ओलीको दम्भ अहिले धरहराको सिढीं चढेर माथि उक्लिएर बसेको छ । त्यसैले हिंजो धरहरा हेर्दै हुनुहुन्थ्यो उहाँ ।’ उनले भने, ‘त्यो धरहरा हेरेर उहाँले दम्भ दखाइरहनुभएको थियो । त्यो दम्भको कुनै अर्थ छैन । हामी आन्दोलन छोड्दैनौं, पार्टी छोड्दैनौं, लोकतन्त्र छोड्दैनौं, संघीयता त्याग्दैनौं ।’