बाँकेमा कोरोना संक्रमितको उपचारका लागि शैया अभाव, स्थिति भयावह हुने सक्ने चिकित्सकको चेतावनी

बाँके । बाँकेमा कोरोना संक्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शैया अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना संक्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल र कोहलपुरस्थित शिक्षण अस्पताल भरिभराउ भएको छ ।

भेरी अस्पतालमा अहिले एउटा शैया पनि खाली नरहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापाले बताएका छन् । उनका अनुसार अस्पतालले कोरोना संक्रमित बिरामी उपचारका लागि तयार गरिएको कोभिड वार्डका सबै १ सय ४२ शैया भरिएका छन् । अहिले पनि गम्भीर प्रकृतिका बिरामी आउने क्रम नरोकिएकाले आउँदा दिन अझै भयावह हुने सम्भावना बढेको छ ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पताल कोरोनाका बिरामीले भरिभराउ भएकाले अक्सिजनको मात्रा कम भएका बिरामीलाई समेत घर पठाउनुपर्ने बाध्यता रहेको बताएका छन् । उनले संक्रमण रोकथाम र संक्रमित गम्भीर प्रकृतिका बिरामीलाई उपचार व्यवस्था मिलाउन सबैले आ–आफ्नो स्थानबाट सहयोगी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

संक्रमित बिरामीको उपचार गर्दै आएको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका फिजिसियन डा.आसिम किदवाइले अस्पतालमा शैया अभाव भएकाले बिरामीलाई भर्ना गर्न नसकिने बताएका छन् । उनले अहिले शिक्षण अस्पतालमा तीन गम्भीर प्रकृतिका बिरामीले आइसीयू शैया पर्खेर बसेको जानकारी दिँदै कोभिडका बिरामी राख्ने वार्ड समयमै नबनाउँदा स्थिति नियन्त्रण बाहिर गएको उल्लेख गरे ।

कोरोना संक्रमित बिरामीको उपचारमा निरन्तर खटिएका स्वास्थ्यकर्मी स्थिति नियन्त्रण बाहिर जाँदा चिन्तित छन् । भेरी अस्पतालका फिजिसियन डा.खगेन्द्रजंग शाह अहिले लक्षणसहितका संक्रमित त्यसमा पनि अक्सिजन चाहिने बढी रहेको बताउँछन् । उनले परिवारका १ सदस्यलाई संक्रमण पुष्टि भए अहिले प्राय सबैमा संक्रमण देखिएको बताए ।

बाँकेका कोभिड संक्रमण व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले निरन्तर संक्रमितको संख्या बढिरहेकाले अस्पतालमा शैया थप्ने र अक्सिजनको व्यवस्थापनमा सबैको ध्यान र सहयोग केन्द्रित गर्न जरुरी रहेको बताएका छन् । रासस

कमेन्टहरु
Loading...