सबै जातजाति र समुदायको खानाको परिकार अध्ययन गर्दै नाथम

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले पर्यटन उद्योगमा सीपयुक्त दक्ष मानव संशाधन उत्पादन गर्ने अग्रणी संस्थाको परिचय बनाउन सफल भएको छ ।

प्रतिष्ठानले हालसम्म शैक्षिक कार्यक्रमतर्फ दुई हजार तथा विभिन्न समयावधिका तालिममार्फत ५४ हजार जनशक्तिलाई गुणस्तरीय स्वरोजगारमूलक शैक्षिक कार्यक्रम र तालिम प्रदान गरिसकेको छ ।

विस २०२९ चैत १३ गते स्थापना भई त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको प्रतिष्ठानले पर्यटन क्षेत्रको जनशक्ति विकाससम्बन्धी स्नातकोत्तर तहसम्मको अध्ययन, अनुसन्धानका साथै परामर्श सेवासमेत प्रदान गर्दै आएको कार्यकारी निर्देशक दीपककुमार थापाले जानकारी दिए ।

झापाको विर्तामोड, महोत्तरीको बर्दिवास र बाँकेको नेपालगञ्जमा शाखा विस्तार गरेको प्रतिष्ठानले होटल व्यवस्थापनसम्बन्धी विभिन्न छोटा तथा लामो अवधिका ५० भन्दा बढी विषयमा तालिम र शैक्षिक कार्यक्रम सञ्चालन गरिहेको छ । प्रतिष्ठानले आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना पकाउने, स्वागत तथा आतिथ्य प्रदान गर्ने, ट्राभल एजेन्सी सञ्चालन गर्ने, टिकट बुकिङ गर्नेलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न तालिम प्रदान गरिरहेको छ ।

प्रतिष्ठानले हिमाल आरोहण भरिया तालिम, पर्यटक पथप्रदर्शक तालिम, घरबास सञ्चालन तालिम, साना तथा लज व्यवस्थापन तालिम, स्थानीय पथप्रदर्शक, पाहुना आतिथ्य तथा खाना गुणस्तर सुरक्षालगायतका दर्जनौँ प्रकारका तालिम प्रदान गर्दै आएको छ । शैक्षिक कार्यक्रमतर्फ प्रत्येक वर्ष ५४० भन्दा बढी विद्यार्थी वार्षिकरूपमा भर्ना भई अध्ययन गरिरहेको बताइएको छ । प्रतिष्ठानबाट हालसम्म उत्पादितमध्ये ९५ प्रतिशत जनशक्ति विश्वबजारमा सहजरूपमा प्रवेश गर्न सफल भएका छन् ।

नेपाली खानाको सङ्ग्रहालय बनाइँदै

मुलुकका ७७ जिल्ला, ७५३ स्थानीय तह र सातै प्रदेशका सबै जातजाति र भाषाभाषीका स्थानीय नेपाली खानाका मौलिक परिकारको अनुसन्धान गर्ने कार्यक्रम पनि प्रतिष्ठानले अघि सारेको छ । काठमाडौँ उपत्यकाभित्र नेपाली खानाको फुड बैंक वा सङ्ग्रहालय बनाउने सोच बनाएको प्रतिष्ठानले कोदोको खिरसमेत चखाउने छ । निकट भविष्यमै इ–लाइब्रेरी पनि सञ्चालन गर्दैछ । खाना बनाउने तालिमको व्यावहारिक अभ्यासका क्रममा उत्पादित खानाका परिकार सहुलियत मूल्यमा बेच्ने तयारी गरिरहेको छ ।

कमेन्टहरु
Loading...