गन्थन डेस्क । फेवातालको छेउमा बनाइएको रिटेनिङ पर्खाल भत्काइने भएको छ । पोखरा महानगरपालिकाका कानुन अधिकृत नारायण शर्मालका अनुसार उक्त पर्खाल महानगरले भत्काउन लागेको हो । यतिबेला फेवातालको चार किल्ला निर्धारण भएपनि सरकारले संरचना बनाउने मापदण्ड नतोक्दा फेवातालमा छेउछाउमा अतिक्रमण बढ्न थालेको छ । महानगरले कति मिटर वरपरसम्म संरचना निर्माण गर्न पाइन्छ त्यसको मापदण्ड तोक्ने जिम्मेवारी पाएको छ । तर महानगरले उक्त काममा ढिलाई गर्दा अतिक्रमण बढ्न थालेको हो ।
केही दिन अघिमात्र पोखरा १८ खपौंदीमा पर्खाल निर्माण भयो । नागरिक समाजले उक्त पर्खालको लगाइकाबारे महानगरमा मेयर मानबहादुर जिसीलाई ध्यानकार्षण पत्र बुझाएको थियो । त्यसपश्चात् मेयर मानबहादुर जिसीले अटेर गरि लगाइएको पर्खाल भत्काइदिने आदेश दिएका हुन् । महानगरका कानुन अधिकृत नारायण शर्माका अनुसार महानगरले पर्खाल भत्काउने कामको सुरआत गरिसकेको छ । ‘हिजो भएको सल्लाहले भत्काउने निर्णय भएको छ’ उनले भने, ‘हामी प्रोसेसमा जाँदै छौं केही दिनमै भत्काउँछौं ।’
कानुन अनुसार फेवाताल किनारबाट ६५ मिटर दुरीसम्म कुनै संरचना बनाउन पाइँदैन । तरपनि बेलाबखतमा अटेर गर्दै ताल वरिपरी संरचना निर्माण हुन्छ । जसमा महानगरले डोजर चलाएर भत्काउँछ । तर पनि यसप्रति महानगरले कुनै ठोस कदम चाल्न सकेको छैन ।