काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नायिका अधिकारी होम क्वारेन्टिनमा बसेकी छिन् ।
पहिलोपटक परीक्षण गर्दा कोरोना भाइरस संक्रमणको रिपोर्ट पोजेटिभ आएको भएपनि विश्वास नलागेर नायिका अधिकारीले दोस्रोपटक समेत परीक्षण गरेकी थिइन् । उनको दोस्रो पटकको कोरोना परीक्षण समेत पोजेटिभ आएको हो ।
केकीलाई कोरोना पोजेटिभ आएपछि सोमबारबाट सुरु हुने भनिएको चलचित्र ‘घिन्ताङ’ को सेड्युल प्रभावित बनेको छ ।
सोमबारबाट चलचित्रको छायांकन गर्ने निर्माण पक्षको तयारी थियो । तर चलचित्रकी कलाकार केकीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि छायांकन केही दिन रोकिएको छ ।
चलचित्रका निर्देशन दीपक श्रेष्ठलाई समेत केही दिन अगाडि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । चलचित्रको छायाँकनका लागि केही युनिट पनौती समेत पुगिसकेका थिए ।
नायिका अधिकारीको रिपोर्ट नेगेटिभ आएपछि चलचित्रको छायांकन पुनः सुरु गर्ने निर्माण पक्षले बताएको छ ।