राँझा । भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि रोजगारी छाडेर घर फर्किने नेपालीको सीमा नाकामा लर्को लागेको छ । भारतमा कोरोना संक्रमणको दोस्रो लहर बढेपछि अहिले नेपालगञ्जस्थित जमुनाह नाकाबाट मात्रै दैनिक २ हजारभन्दा धेरैको संख्यामा नेपाली घर फर्किने गरेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक विष्णु गिरीले जानकारी दिएका छन् ।
उनका अनुसार शनिबार मात्रै २ हजार ३ सय ७२ नेपाली भारतबाट फर्किएका छन्, तीमध्ये १ हजार २ सय ९५ कर्णाली प्रदेशका विभिन्न जिल्लाका हुन् । भारततर्फ जाने संख्या भने घटेको छ । शनिबार २ सय ९९ व्यक्ति भारततर्फ गएका छन् । तीमध्ये कतिपय नेपाली औषधोपचारका लागि गएका छन् भने भारत जानेमा अधिकांश भारतीय नागरिक नै रहेका छन् ।
नेपालगञ्जस्थित जमुनाह नाका भएर भारतको मुम्बई, दिल्ली, महाराष्ट्र, गडवाललगायत भारतीय सहरबाट दैनिक ठूलो संख्यामा नेपाली घर फर्किने गरेका छन् । प्रहरी नायब निरीक्षक गिरीले भारतमा कोरोना संक्रमण बढेसँगै घर फर्किने नेपालीको लर्को लागेको बताएका छन् । जोखिम बढेपछि रुपैडिहा किनमेलका लागि जान रोक लगाइए पनि कतिपयले जोखिम मोलेरै अनौपचारिक नाका प्रयोग गरिरहेको देखिन्छ ।
स्वास्थ्य उपचार र अत्यावश्यकीय कामको लागिमात्र नेपालीलाई भारत जान दिइएको छ । यसरी भारतबाट नेपाल फर्किएकामध्ये ६० प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । जिल्लास्थित सीमा नाका जमुनाह हुँदै भारतबाट नेपाल प्रवेश गर्ने ६० प्रतिशतमा संक्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाप्रमुख रामबहादुर चन्दले बताए । उनका अनुसार भारतबाट फर्किने ६० प्रतिशत बढी नेपालीमा कोरोना संक्रमण देखिने गरेको छ । नेपालगञ्जस्थित जमुनाह नाकामा सञ्चालन गरिएको स्वास्थ्य सहायता कक्षमा गरिएको जाँचमा भारतको गुजरात र दिल्लीबाट आएका अधिकांशमा कोरोना पुष्टि देखिने गरेको हो । भारतमा कोरोना संक्रमण बढेसँगै नेपाल फर्किएकाबाट नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिनेतर्फ दृष्टिगत गर्दै उपमहानगरपालिका स्वास्थ्य शाखाले गत चैत ११ गतेदेखि जमुनाह नाकामा स्वास्थ्य कक्ष स्थापना गरी नेपाल आउनेहरुको ज्वरो नाप्ने तथा शंकास्पद देखिएमा एन्टिजिन प्रविधिमार्फत कोरोनाको जाँच गर्दै आएको छ ।
छिमेकी मुलुक भारतमा तीव्र रुपमा संक्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै भारतका विभिन्न सहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिएका छन् । उनका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ ।
घर फर्किंदै नेपाली
गत मंसिरमा रोजगारीका लागि भारतको गडवाल पुगेका बाँकेको राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी रामदास थारू चार महिनामै रित्तो हात घर फर्किनु परेको छ । कोरोना संक्रमण बढेका कारण काम गर्ने होटेल बन्द भएपछि घर फर्किन बाध्य भएको उनले बताएका छन् । ‘कोरोना बढेपछि काम बन्द भएका कारण ज्यान जोगाउन तुरुन्तै घर फर्किनु प¥यो ।’ रामदाससँगै घर फर्किंदै गरेका राप्तीसोनारी–२ कचनापुर निवासी बल्लु थारूले भने, ‘घरबाट पैसा कमाउन भनेर ऋण सापट गरेर गएका थियौं, पैसा कमाउन त त्यस्तै भयो, ज्यान जोगाउन घर फर्कियौं ।’ लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, रुकुम, रोल्पा र कर्णाली प्रदेशका जिल्लाका नागरिक अहिले नेपालगञ्जस्थित जमुनाह नाका हुँदै धमाधम घर फर्किंदै छन् ।
२६ जनामा संक्रमण
भारतबाट नेपाल फर्किने शंकास्पद बिरामीलाई नेपालगञ्जस्थित जमुनाह नाकामा कोरोना परीक्षण गरेरमात्र घर पठाउने व्यवस्था गरिएको छ । भारतबाट घर फर्किने सर्वसाधारणको स्वास्थ्य जाँच गरी शंकास्पद बिरामीको सीमा नाकामै स्थापना गरिएको स्वास्थ्य कक्षमा कोरोना परीक्षण गरेर मात्रै पठाइने गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखाप्रमुख चन्दले जानकारी दिएका छन् । उनका अनुसार जमुनाह नाकामा एन्टी जिन प्रविधिबाट स्वाब लिएको १५ मिनेटमा कोरोनाको रिपोर्ट निकाल्ने गरिएको छ ।
भारतबाट फर्किएका शंकास्पद व्यक्तिको स्वाब परीक्षण गर्दा हालसम्म २६ जनामा कोरोना संक्रमण देखिएको ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले जानकारी दिएका छन् । जमुनाह नाकामा भारतबाट आउने नेपालीलाई गत चैत ११ गतेदेखि कोरोना जाँच सुरु गरिएको हो । आजसम्म २ सय २३ जनामा परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको छ । आज मात्रै बिहान १०ः०० बजेसम्म १० जनामा परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको ज्ञवालीले बताएका छन् । उनका अनुसार भारतबाट आएका नेपालीलाई जमुनाह नाकामा कोरोनासँगसँगै मलेरियासमेत परीक्षण गर्ने गरिएको छ । भारतको गुजरातबाट फर्किने अधिकांशमा कोरोना संक्रमण देखिने गरेको छ ।
भारतमा तीव्र रुपमा संक्रमण बढेकाले रुपैडिहामा किनमेलका लागि जानमा रोक लगाइनाका साथै विभिन्न सहरबाट घर फर्किने नेपालीलाई समेत अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको प्रजिअ शिवराम गेलालले जानकारी दिएका छन् ।
उनका अनुसार सीमा नाकामा कडाइसँगै अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, त्यहाँबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न जिल्ला संकट व्यवस्थापन केन्द्र बाँकेको बैठकले आग्रह गरेको छ । कोरोना संक्रमण दर अस्वाभाविक रुपमा बढे पनि स्वास्थ्यका मापदण्ड कार्यान्वयनमा बेवास्ताका कारण विगतमा जस्तै फेरि बाँके कोरोना संक्रमणको केन्द्र विन्दु बन्ने डर छ । रासस