मुलुकलाई निकास कांग्रेस बाहेक अरुले दिन सक्दैनः कोइराला

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मंसिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुर्जिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका हुन् ।

सत्तारुढ नेकपा एमालेभित्रको गुटबन्दीका कारण संसद् अनिर्णयको बन्दी बनेको दाबी गर्दै उनले संसदीय व्यवस्थामा विश्वास गर्ने पार्टी भएकाले कांग्रेसको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, देशलाई निकास दिने काम कांग्रेसले मात्र गर्न सक्छ, त्यो निकासका लागि कांग्रेस नेतृत्वमा सरकार बनाइकन निर्वाचनमा जानु उत्तम उपाय हो ।’

सरकारले विजनेस नदिएकाले संसद् अनिर्णयको बन्दी बनेको र सभामुख केही गर्न नसक्ने अवस्थामा रहेकाले संसद्को कार्यकाल पूरा गर्न दिने वा कसरी जाने भन्ने सवाल महत्वपूर्ण रहेको कोइरालाको भनाई छ । कांग्रेसका लागि आगामी भदौमा हुने १४ औं महाधिवेशन महत्वपूर्ण र प्राथमिकतामा रहेको बताउँदै नेता कोइरालाले आफू सभापति पदमा बाहेक अन्य पदमा उम्मेदबार नहुने स्पष्ट पारेका छन् । रासस

कमेन्टहरु
Loading...