मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा

मुग्लिन । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि चैत २५ देखि २९ गतेसम्म बन्द गरिएको केबुलकार आज बिहान ८ बजेदेखि नियमित सञ्चालनमा आएको हो ।

यसअघि ३१ गतेबाट सञ्चालन गरिने जनाए पनि एक दिनअगावै नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिएका छन् । २३ वर्ष पूरा भएको मनकामना केबुलकारको ३ चरणमा स्तरोन्नति गरिँदै छ ।

यस अवधिमा केबुलकारको स्तरोन्नतिको पहिलो चरणमध्येको कार्यअनुसार ६ दिन बन्द गर्ने सूचना जारी गरेकोमा निर्धारित समयअगावै काम सकिएपछि आजदेखि नै सञ्चालन गरिएको उनले बताएका छन् । महाप्रबन्धक शेरचनका अनुसार पहिलो चरणमा तत्काल अत्यावश्यक र मर्मत गर्न नसकिने पार्टपुर्जा फेरिएको छ भने दोस्रो चरणमा नयाँ प्रविधिमैत्री बनाउन पूर्वाधार तयार तथा अन्य थप पार्टपुर्जा फेरिनेछ ।

अन्तिम चरणमा हालको एनालग प्रविधिबाट डिजिटलमा स्तरोन्नति गरिने उनले बताए । २ वर्षको अवधिमा यी सबै काम सकिएर नयाँ प्रविधिबाट केबुलकार सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । रासस

कमेन्टहरु
Loading...