काठमाडौं । नेपाली कांग्रेसले आज माओवादी केन्द्र तथा जनता समाजवादी (जसपा) नेपालसंग छलफल गर्ने भएको छ ।
नयाँ सरकार गठनका विषयमा छलफल गर्न आज दिउँसो ३ बजे नेपाली कांग्रेससहित माओवादी केन्द्र तथा जसपाबीच बैठक बस्ने भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठनका लागि नेतृत्व लिन कांग्रेस सभापति शेरबहादुर देउवालाई पटक–पटक आग्रह गर्दै आएका थिए । तर देउवा भने यो विषयमा मौन थिए ।
नयाँ सरकार गठनका लागि बिहीबारबाट भने देउवाले सक्रियता देखाएका छन् । प्रमुख प्रतिपक्षी दल समेत रहेको नेपाली कांग्रेसले यस अगाडि नै आवश्यक परेको खण्डमा पार्टीले नयाँ सरकार गठनका लागि नेतृत्व गर्ने बताउँदै आइरहेको छ । यही विषयमा छलफल गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हतार–हतार बिहीबार नै सुर्खेतबाट काठमाडौं फर्किएका छन् ।
नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने या नहटाउने भन्ने विषयमा प्रष्ट निर्णय दिन जसपा नेता महन्थ ठाकुर तथा कांग्रेस सभापति देउवालाई माओवादी केन्द्रले आग्रह गर्दै आएको छ । तर कांग्रेस सभापति देउवा भने प्रधानमन्त्री ओलीको विपक्षमा संसदमा बहुमत नपुगेसम्म अगाडि नबढ्ने अवस्थामा छन् । यता जनता समाजवादी पार्टीमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारलाई साथ दिने या नदिने भन्नेमा २ वटा धार देखिएको छ ।