बर्दियाको नरभक्षी बाघ सदर चिडियाखानामा कैद

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा आज ल्याइएको हो ।

निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको राष्ट्रिय गैंडा गणना कार्यक्रम–२०२१ मा सहभागी भइरहेकै अवस्थामा सोही बाघको आक्रमणबाट यही चैत २२ गते निधन भएको हो । उक्त बाघलाई त्यसै दिन बेलुका ८ बजे नियन्त्रणमा लिइएको थियो ।

केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको थियो । चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । जसमध्ये ३ जनाको निकुञ्जभित्र, ५ जनाको जैविक मार्ग क्षेत्रमा र २ जनाको मध्यवर्ती क्षेत्रको जंगलमा भएका हुन् ।

सिलसिलाबद्ध रूपमा मानव–बाघ द्वन्द्व बढिरहेका बेला सरोकारवाला निकायलाई यो द्वन्द्वको तत्काल समाधान गर्न दबाब बढिरहेको छ ।

यसै सिलसिलामा गत १ वर्षभित्रमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्किएका ४ बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, देवीदत्तगण र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ । त्यसमध्ये १ बाघलाई आज चिडियाखानामा ल्याइएको, १ बाघ बर्दियामै राखिएको, १ बाघ केही दिन बाँकेमा राखिएको अवस्थामा फुत्किएर पुनः जंगलमै फर्किएको र १ बाघ बूढो भएको र नियन्त्रणमै रहेको अवस्थामा मरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिएका छन् । रासस

कमेन्टहरु
Loading...