धुलिखेल अस्पतालमा निधन भएका पुरुषमा कोरोना संक्रमण

काठमाडौं । निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको निधन भएको छ । उपचारका क्रममा बिहीबार ज्यान गुमाएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना हुनुभएको र उहाँको उपचारका क्रममा बिहीबार दिउँसो निधन भएको हो । निधनपछि शंका लागेर कोरोना परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको अस्पतालका आकस्मिक विभाग प्रमुख डा सानुकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

थप सुरक्षाका मापदण्ड अपनाई अस्पतालको सेवालाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ । निधनपश्चात् कोरोना पुष्टि भएको पुरुषको शवलाई नेपाली सेनाको टोलीले अन्त्यष्टि गरिएको छ ।

यसैबीच, जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमान्ड पोस्टको आकस्मिक बैठकले अस्पताललाई थप सुरक्षाका मापदण्ड अपनाई सेवा प्रवाह गर्न आग्रह गरेको छ । अस्पताललगायत क्षेत्रमा सावधानी अपनाउन र स्थानीय तहलाई थप सेचतना बढाउन आग्रह गरिएको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताएका छन् ।

पोस्टका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका ३ हजार ३ सय ७५ मा कोरोना संक्रमण भएका थिए । कोरोना संक्रमणबाट हालसम्म जिल्लाका १४ महिलासहित ४५ को निधन भएको छ । संक्रमितमध्ये ७ जना होम आइसोलेसनमा उपचाररत छन् भने अन्य संक्रमणमुक्त भइसकेका छन् । जिल्लामा हालसम्म कोभिडविरुद्ध २३ हजार ६ सय ३५ ले खोप लगाएको पोस् टले जनायो । रासस

कमेन्टहरु
Loading...