आरक्षका जनावरबाट १ सय ४२ क्षतिका घटना

बाग्लुङ । ढोरपाटन शिकार आरक्ष नाउर र झारलको शिकारका लागि प्रख्यात छ । यहाँ बर्सेनी साहसिक शिकारमा भाग लिने विदेशीले नेपाल सरकारसँग अनुमति लिएर नाउर र झारलको शिकार गर्ने गरेका छन् । शिकार आरक्ष क्षेत्रमा जसरी विदेशी शिकारी रमाइरहेका छन् ।

त्यसैगरी आरक्ष आसपासमा रहेका बस्तीका नागरिकलाई वन्यजन्तुका कारण सास्ती छ । आरक्ष क्षेत्र आसपासका सर्वसाधारणले बर्सेनि जङ्गली जनवारका कारण मानवीय तथा पशुधनको क्षति व्यहोर्दै आएका छन् । बासस्थान, ओहोरदोहोर गर्ने बाटो, पानी र मानवीय गतिविधिका कारण दिनचर्यामा खलल आएपछि वन्यजन्तुले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेका छन् । आर्थिक वर्ष २०७६/७७ मा मात्रै शिकार आरक्ष आसपासका बस्तीमा १ सय ४२ वटा मानवीय तथा पशुधनको क्षति भएको छ । सरकारको नियमानुसार क्षतिका आधारमा आरक्ष आसपासका सर्वसाधारणले राहत पाउँछन् । सो अवधिमा १ सय ३८ घटना चितुवाले मात्रै घटाएको तथ्यांक छ ।

वन्यजन्तुको आक्रमणका कारण ७ जना घाइते भएको तथ्यांक कार्यालयसँग छ । ५ जना सख्त घाइते भएका थिए भने २ सामान्य घाइते भएका थिए । सख्त घाइते ५ जनाले ढोरपाटन शिकार आरक्ष कार्यालयबाट ४ लाख २० हजार ८ सय ६४ राहत पाएका छन् । सामान्य घाइते २ जनाका लागि २३ हजार ६ सय राहत उपलब्ध गराइएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताएका छन् । आरक्षबाट बस्तीमा आउने चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्ने गरेको छ । चितुवाबाहेकका जंगली जनावरले समेत क्षति पु¥याउने गरेका छन् ।

सो अवधिमा आरक्ष आसपासका क्षेत्रमा १ सय ३५ घरपालुवा जनावर मारिएका छन् । १३ लाख ८८ हजार ५ सय राहत वितरण गरिएको तथ्यांक आरक्ष कार्यालयको प्रतिवेदनमा उल्लेख छ । ‘क्षति स–साना ठाउँमा हरेक क्षेत्रमा छ ।’ कँडेलले भने, ‘हामीले क्षतिको अवस्था हेरेर राहत दिन्छौं, तथ्यांक हुन्छ, त्यसैले धेरै चर्चा हुने हो ।’

गत आवमा कसैले पनि जंगली जनावरको आक्रमणका कारण ज्यान गुमाउनु नपरेको उनले बताएका छन् । आरक्षमा नाउर र झारल शिकार गर्न पाइन्छ । बँदेलका कारण आरक्ष आसपासमा रहेका कयौं किसानले लगाएको बालीनालीसमेत नष्ट हुने गरेको छ । नेपाल सरकारलाई राजश्व तिरेर गरिने शिकारका लागि विदेशी शिकारी बढी आउने गर्छन् । यहाँ अन्य ३२ प्रकारका स्तनधारी र १ सय ६४ प्रकारका पक्षी संरक्षित छन् । यहाँ छेन्टुङ गुम्बा, उत्तरगां, गुर्जाखानी, रुद्रताललगायतका धेरै पर्यटकीय क्षेत्र पनि छन् । रासस

कमेन्टहरु
Loading...