ताप्लेजुङमा आगलागी नियन्त्रणबाहिर गयो, ५५ वटा घर जलेर नष्ट, स्थानीय भाग्न सफल भए

ताप्लेजुङ । ताप्लेजुङको दोभान बजारमा आगलागीबाट हालसम्म ५५ वटा घर जलेर नष्ट भएका छन् । आगोले पु¥याएको क्षतिको विवरण भने आउन बाँकी नै रहेको छ । बिहान करिब ९ बजेबाट सुरु भएको आगलागी नियन्त्रण बाहिर गएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणका लागि ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । साथै स्थानीयसहित प्रहरी, सशस्त्र तथा नेपाली सेना आगलागी नियन्त्रणका लागि खटिएका छन् । जिल्लाकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा खड्काले हालसम्म उपलब्ध तथ्यांक अनुसार उक्त स्थानमा आगलागीबाट ५५ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । यो संख्यामा केही थपघट हुन सक्ने पनि उनले बताएकी छिन् । बजार क्षेत्र भएकाले पनि सो क्षेत्रमा रहेका किराना पसल, कपडा पसल, कृषि सामाग्रीका पसल लगायत सबै नष्ट भएका छन् । सहायक प्रजिअ खड्काले प्रयास जारी रहेको तर आगलागी नियन्त्रणमा आउन अझै केही समय लाग्न सक्ने बताएकी छिन् ।

यता स्थानीयले जिल्लाकै सबैभन्दा दोस्रो ठूलो बजारमा लागेको आगलागी नियन्त्रणका लागि दमकल आउन समय लागेकाले आगलागी थप फैलिएको गुनासो गरेका छन् । माटोले आगो अन्यत्र फैलिन नदिनका लागि घरहरु भत्काएर नियन्त्रण गर्ने प्रयास भइरहेको मेरिंदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बुले बताएका छन् । अध्यक्ष लिम्बुका अनुसार आलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

आगलागी सुरु हुनासाथ सबैजना भागेर बाँच्न सफल भएको उनले बताएका छन् । बजारका स्थानीय त्रासमा रहेको र एकै स्थानमा जम्मा गर्न नसकिएको उनले बताए । तर अन्य सामान तथा घर भने जलेर नष्ट भएको उनले बताए ।

उनका अनुसार नियन्त्रणको प्रयास जारी राख्दै गर्दा आगलागी जंगलतर्फ फैलिन सुरु भएको छ । जंगलमा आगलागी सुरु भएपछि नियन्त्रणका लागि कठिनाई उत्पन्न भएको अध्यक्ष लिम्बुले बताएका छन् ।

सोही बजारमा कपडा पसल सञ्चालन गर्दै आइरहेका स्थानीय भोला पौडेलको घरबाट आज बिहान करिब ९ बजेको समयमा आगलागी सुरु भएको थियो । पौडेलको घरबाट आगलागी कसरी भयो भन्ने विषयमा जानकारी पाउन नसकिएको अध्यक्ष लिम्बुले बताएका छन् ।

तर अर्का स्थानीय गणेश कार्कीले भने विद्युत् चुहिएर पौडेलको घरबाट अचानक आगलागी सुरु भएको जानकारी दिएका छन् ।

आगलागी सुरु भए पश्चात् कपडा पसल सञ्चालक पौडेल दम्पति हाल सम्पर्कमा नआएको बताइएको छ । बजारमा आगलागी सुरु भएपछि स्थानीयहरुबीच भागदौड मच्चिएको र भागेर टाढै पुगेकाले उनीहरुको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...