कोरोनाबाट विदेशमा थप ३ जना नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा २ र पोर्चुगलमा १ जनाको संक्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना संक्रमणले निधन हुने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ कोरोना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत रहेको गैरआवासीय नेपाली संघ, ‘कोभिड–१९’ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताएका छन् । संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार पोर्चुगल, फ्रान्स, युएई, साउदी अरब र कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ । यो साता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो । यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ६१ को निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७४ हजार ६५ रहेकामा २ लाख ७० हजार ३ सय २५ जना अर्थात ९८ दशमलव ६ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।

खोप लगाएपछि के हुन्छ ?

स्वास्थ्य समितिमा आबद्ध स्वास्थ्यकर्मीले विश्वमा हाल परीक्षणपश्चात् आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा अध्ययन अझै जारी नै रहेकोले खोप लगाएपश्चात कति समयसम्म शरीरमा एन्टिबडी रहन्छ भन्नेबारे यकिनरूपमा बताउन नसकिने बताएका छन् । खोप लगाइसकेकामा विशेषतः ३ सातापछि एन्टिबडी विकास भएको पाइएको छ तर सबै व्यक्तिमा उस्तै किसिमले एन्टिबडी विकास नहुन पनि सक्छ ।

हाल खोप कम्पनी एवं वैज्ञानिकका अनुसार खोपको दुवै मात्रा लगाएपछि शरीरमा प्राकृतिक एन्टिबडी विकास भई ५ देखि ६ महिना वा १ वर्षैसम्म पनि एन्टिबडी रहिरहन्छ । यद्यपि यसबारे पनि अनुसन्धान जारी छ । साधारणतया खोपको पहिलो डोज लगाएपछि एन्टिबडी विकास हुन थाल्ने र दोस्रो डोज पछि सो स्वतः बढ्दै जाने स्वास्थ्य विज्ञ बताउँछन् । शरीरमा एन्टिबडी बनेपछि मेमोरी सेलले निकै लामो समयसम्म कोरोना भाइरसलाई पहिचान गर्ने तथा त्यस्तो भाइरस शरीरमा आएमा एन्टिबडी सक्रिय भएर भाइरसलाई नष्ट गर्छ ।

एकपटक कोरोना संक्रमण भइसकेका मानिसमा संक्रमणको सम्भावना कम हुन सक्छ । किनकी उनीहरुमा प्राकृतिक एन्टिबडी विकास भइसकेको हुन्छ । तर कति समयसम्म सो एन्टिबडी शरीरमा रहन्छ, यो भने अनुसन्धानको क्रममै छ ।

त्यसैले स्वास्थ्य समितिले एकपटक संक्रमण भइसकेका र खोप लगाएकाले पनि स्वास्थ्य मापदण्ड अपनाउनुपर्ने जनाएको छ । कोभिडको खोप लगाएपछि मृत्यु हुन्छ, दीर्घकालीन असर हुन्छ, यो खोपले डिएनएलाई असर वा नष्ट गर्छ, प्रजनन क्षमता ह्रास हुन्छ लगायतका विभिन्न भ्रम फैलिएका छन् । यी सबै गलत भएको स्वास्थ्य समितिले जनाएको छ । खोप लगाएकामध्ये केही मानिसमा ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांसपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने समस्या देखिन सक्छ । तर गम्भीर समस्या देखिएका घटना न्यून छन् ।

पहिलो मात्रा खोप लगाएका व्यक्तिले ४ हप्तामा दोस्रो मात्रा लगाउनुपर्छ । दोस्रो मात्रा ३ हप्तादेखि १२ हप्ताको समयमा लगाउन मिल्ने बताइएको छ । दीर्घ रोगीले पनि खोप लगाउन सकिन्छ । तर रगत पातलो बनाउने औषधि खाइरहेका, स्नायुसम्बन्धी औषधि सेवन गरेका, गर्भवती, स्तनपान गरिरहेकालाई भने खोपको सिफारिस नगरिने गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सापकोटाले बताएका छन् । लामो परीक्षणपछि ल्याइएकाले पनि यी खोप सुरक्षित रहेको स्वास्थ्य विज्ञहरुले उल्लेख गरेका छन् । रासस

कमेन्टहरु
Loading...