चितवन । जिल्लामा रहेका स्थानीय तहले भूमिहीन तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएका छन् । सैतीस हजारभन्दा बढीलाई जग्गाधनी पुर्जा दिने गरी काम अघि बढाइएको हो । ७ वटै पालिकाले आफ्नो निकायभित्र रहेका भूमिहीन तथा सकुम्बासीको लगत संकलन गर्ने काम सुरु गरेका छन् । वडा तहबाटै काम सुरु भएको बताइएको छ । भरतपुर महानगरपालिकाले अहिले भूमिहीनको लगत लिने काम गरिरहेको छ । महानगरपाकिलामा १५ हजार ७ सय भूमिहीन तथा सुकुम्बासी छन् ।
महानगर प्रमुख रेनु दाहाल भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको प्रक्रिया सुरु भइसकेको बताउँछिन् । प्रमुख राजनीतिक दलसँग समन्वय गरेर नगरस्तरीय र वडास्तरीय सहजीकरण समिति बनाएर महानगरपालिकाले काम अघि बढाएको उनको भनाई छ । महानगरले १५ कर्मचारी नियुक्त गरेर काम अघि बढाएको हो । रत्ननगर नगरपालिकामा भूमिहीन तथा सुकुम्बासी लगत संकलन समितिका संयोजक अर्जुन पंगेनी ६ महिनाभित्रै भूमिहीनलाई पुर्जा दिने गरी काम सुरु भएको बताउँछन् ।
उनले वडावाट प्रमाणित गराएर नापनक्शा निकाल्ने काम गरिरहेको बताएका छन् । रत्ननगरमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास परिवारको संख्या २ हजार ४ सय ५० रहेको नगरपालिकाले जनाएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडावडामा पुगेर लगत लिने काम भइरहेको बताए । सुकुम्बासीको निवेदनका आधारमा फाराम भर्ने काम भइरहेको उनले जानकारी दिएका छन् ।
भूमिहीन सुकुम्बासीलाई ६ कठ्ठासम्म जग्गा निःशुल्क र अव्यवस्थित बसोवासीले निश्चित शुल्क तिरेर १ बिघा ९ कठ्ठासम्म जग्गा पाउने व्यवस्था नगरपालिकाले सुरु गरेको पनि उनले जनाएका छन् । माडीको बाँदरझुलामा मात्रै झण्डै ७ सय सुकुम्बासी छन् । ३० वर्षदेखि सुकुम्बासीका रूपमा बस्दै आएका सुकुम्बासीको समस्या समाधान सबैभन्दा जटिल रहेको उनको भनाई छ ।
यस नगरपालिकामा ४ हजार सुकुम्बासी रहेको ढकालले जानकारी दिएका छन् । कालिका नगरपालिकामा ४ हजार २ सय ३२ परिवार, राप्ती नगरपालिकामा ६ हजार परिवार र इच्छाकामना गाउँपालिकामा ४ हजार ५ सय भूमिहीन तथा सुकुम्बासी रहेका छन् ।
यस्तै खैरहानी नगरपालिकामा २ हजार ५ सय भूमिहीन तथा सकुम्बासी रहेका सम्बन्धित नगरपालिकाले जनाएको छ । सबै स्थानीय तहले पनि अहिले भूमिहीन समस्या समाधानमा प्रक्रिया सुरु गरिसकेको जनाएका छन् ।
इच्छाकामनाका अध्यक्ष गीता गुरुङले भूमिहीन तथा सुकुम्बासीको लगत लिई प्रमाणित गरी भूमिहीन सुकुम्बासी समस्या समाधान आयोगमा सिफारिस गर्ने तयारीमा रहेको बताएकी छिन् । रासस