काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको हत्या प्रकरणमा पक्राउ परेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीमा आज पत्रकार सम्मेलनको आयोजना गरेर दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका दिनेशले विद्यालयबाट घर फर्किने बाटोमा ढुकेर भागरथीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
भागरथीको हत्याको योजनासहित दिनेश उनी विदालयबाट फर्किने लवलेक जंगलको बाटोमा ढुकेर बसेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।
हत्याको आरोप लागेका दिनेश भागरथी पढ्ने सनातन धर्म माध्यामिक विद्यालयको कक्षा ११ मा अध्ययनरत रहेका थिए । हत्याको योजनासहित ती युवक माघ २१ गते विद्यालयबाट एउटा पिरियड नपढेर आफ्ना साथीहरुसंग फर्किएको प्रहरीले जानकारी दिएको छ ।
साथीहरुसंग विद्यालयबाट फर्किएको भए पनि उनी पछि आउने भन्दै फर्किएका थिए ।
डिआइजी सुवेदीका अनुसार घटनास्थलमा भागरथीको हत्याका लागि नै भनेर दिनेशले कुरेर बसेका थिए । एकान्त स्थान तथा एक्लै आएको देखेपछि दिनेशले भागरथीलाई सडकबाट धकेलेर जबरजस्ती घाँटी थिच्दै हत्या गरेको अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।
प्रहरीसंगको बयानका क्रममा दिनेशले बलात्कार नगरेको र घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् । तर भागरथीको पोस्टमार्टम् रिपोर्टमा भने उनको बलात्कारपश्चात् हत्या भएको देखिएको थियो ।
भागरथीका छिमेकी समेत रहेका दिनेशले आफ्नो परिवारको रिसिइबीका कारण उनको हत्या गरेको प्रहरी समक्ष बयान दिएका छन् । तर घटनाका विषयमा अनुसन्धान जारी रहेको र बाधा पर्न सक्ने भन्दै प्रहरीले रिसिइबीका विषयमा जानकारी उपलब्ध गराएको छैन ।