हिमपातले जनजीवन प्रभावित

ताप्लेजुङ । गए राति ताप्लेजुङको विभिन्न स्थानमा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । मंगलबार दिउँसोदेखि रातभरि हिमपात भएकाले घुन्सा गाउँका स्थनीयवासीको जनजीवन प्रभावित हुन पुगेको स्थानीयवासी पेमा शेर्पाले जानकारी दिएकी छिन् । शेर्पाले भनिन्, शुक्रबारदेखि निरन्तर हिमपात भइरहेको छ । अहिले करिब १ फिटसम्म हिउँ जमेको छ ।’ सबैतिर सिसाजस्तै हिउँ जमेको शेर्पाले बताएकी छिन् । पानीका मुहान सबै जमेपछि खानेपानीसमेत समस्या परेको उनले बताइन् । उनले भनिन्, ‘चिसोका कारणले घर बाहिर निस्किनै सकिँदैन । घरभित्र आगो तापेर बस्नुपर्छ ।’ जनजीवन निकै प्रभावित भएको उनले बताएकी छिन् ।

चौंरी र गाईवस्तु हिउँ कम पर्ने अलिक औल झारेको फले निवासी लाक्पा भोटियाले बताएका छन् । हिजोदेखि अहिलेसम्म निरन्तर हिउँ परेको उनले जानकारी दिएका हुन् । घुन्सागाउँ समुद्र सतहदेखि ३ हजार ५ सय मिटर उचाइमा पर्छ ।

यस्तै समुद्र सतहदेखि ३ हजार २ सय मिटर उचाइमा ओलाङचुङगोला र समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा याङमा गाउँ पर्छ । यस बस्तीमा शुक्रबार बेलुकीदेखि अहिलेसम्म बाक्लो हिउँ परिरहेको फक्ताङलुङ गाउँपालिका–६ निवासी मनुकुमार राईले बताएका छन् ।

हिमाली क्षेत्रका समुदाय हिमपातले प्रत्यक्ष प्रभावित भएको छ । सिरिजंधा गाउँपालिकाको याम्फुदिनमा हिउँ परेपछि जाडोले बालबालिका, वृद्धवृद्धा र पशु चौपाया बढी प्रभावित भएको स्थानीयवासी कमल राईले बताए । मिक्वाखोला गाउँपालिका पापुङ क्षेत्रमा शुक्रबारदेखि आज रातभरि हिमपात भएको रिङ शेर्पाले बताए । ताप्लेजुङ जिल्ला हिउँले सेत्याम्य भएको छ । ताप्लेजुङमा आजको बिहानको मौसम न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको हावापानी फिल्ड कार्यालय ताप्लेजुङले जनाएको छ । रासस

कमेन्टहरु
Loading...