तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मंगलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् ।
सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् ।
घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता लागेपछि सन्तोषले भाइ हराएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा खबर गरे । मंगलबार बिहानदेखि बेपत्ता भएका ईश्वरको बुधबार साँझसम्म केही पत्ता लाग्न नसकेको वीरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिएका छन् । ‘२ दिन भइसक्यो ईश्वरको केही अत्तोपत्तो लाग्न सकेको छैन ।’ उनले भने, ‘बजार क्षेत्रको सिसिटिभी फुटेज पनि हे¥यौं, केही जानकारी प्राप्त हुन सकेन ।’
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले किशोरको खोजीकार्य तीव्र पारिएको जानकारी दिएका छन् ।
सवारी साधनलाई कारवाही
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालन हुने बसमा अनधिकृत बोर्ड राखेको पाइएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । पुग्नुपर्ने स्थानभन्दा फरक स्थान जाने अनधिकृत बोर्ड राखेर यात्रुलाई ढाँट, छल गरेको गुनासो आएपछि प्रहरीले गरेको जाँचका क्रममा ४० बसलाई कारवाही गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिएका छन् । उनका अनुसार २१ बसलाई कारवाही गरी छाडिएको र १९ बसका कागजपत्र नियन्त्रणमा लिइएको छ । रासस