- रिना थापा । नेपाली फुटबल र नवयुग श्रेष्ठले सम्झने दिन हो, २०७२ माघ ५ । बंगालदेशमा आयोजना भएको बंगबन्धु कपमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेर चर्चामा आएका हुन् श्रेष्ठ ।
उक्त ह्याट्रिकले श्रेष्ठ र नेपाली फुटबलमा ‘नवयुग’ आयो । खेलको ३१ औं मिनेटमा गोल गरेका श्रेष्ठले आफ्नो रफ्तार कायम राख्दै ६२ र ९१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । बहराइनविरुद्धको फाइनल खेलमा नेपालको जित सुनिश्चित पार्न सफल बनेका थिए ।
सन् १९९९ यता नेपाल कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलसम्म पुग्न सकेको थिएन । त्यस यताओरालो लागिरहेको नेपाली फुटबलले लामो अन्तरालपश्चात् जित हासिल गरेको थियो । श्रेष्ठले नेपाली खेलप्रेमीले चाहेको गोल र उपाधि नेपाल भित्र्याएका थिए ।
श्रेष्ठले खेल प्रमीलाई आशा दिलाएसँगै उनीहरुमाझ चर्चित बन्न पुगे । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कीर्तिमान खेलाडीको यात्रामा आफ्नो नाम पाचौं खेलाडीमा लेखाउन सफल श्रेष्ठले यो ५ वर्षको अवधिमा खेल क्षेत्रमा फड्को मारेका छन् ।
इलामको मंगलबारेमा वि.सं. २०४७ सालमा जन्मिएका नवयुग श्रेष्ठले आफ्नै घरआँगन र स्कुलको मैदानबाट फुटबल सुरुआत गरे । श्रेष्ठलाई ठ्याक्कै कहिले बल छोए र गोल गरे याद छैन । तर उनको पहिलो खेल करिअर नै अन्तराष्ट्रिय ह्याट्रिबाट सुरु भएकाले उनलाई ०७२ देखि समग्र फुटबलप्रेमीले समेत याद गर्न थाले ।
विपक्षीको पोस्टमा आक्रामक शैलीमा खेल्न माहिर श्रेष्ठ यति बेला विश्वकप छनौट तयारीका लागि पोखरा रंगशालामा प्रशिक्षणरत छन् । लामो अन्तरालपश्चात् मैदानमा फर्किएर पोखरामा प्रशिक्षण लिन पाउँदा उनी खुसी देखिए ।
पोखराको मौसम र रंगशालामा गरेको प्रशिक्षणले सुखद् नतिजा दिने उनको विश्वास छ । ‘यहाँको वातावरण पनि राम्रो छ ट्रेनिङ प्रभावकारी बनिरहेको छ,’ उनले भने, ‘यसको प्रतिफल विश्वकप छनौटमा राम्रै देखिएला ।’
खेल जीवनको सुरुआती समयमा नेपालको जर्सी लगाएर मैदानमा ओर्लने सपना पुरा गरेका श्रेष्ठ देशलाई ‘केही’ दिन प्रयासरत छन् । कोरोना कहरले प्रभावित खेलाडीलाई उचित प्रशिक्षण, खानपान र सुरक्षित भविष्यको सुनिश्चितता दिनुपर्ने उनले धारणा राखे ।
भाग्दै, खेल्दै देश चिनाउँदै
बच्चा बेलादेखि नै फुटबलप्रेमी रहेका उनले परिवारको साथ उत्तिकै पाए । बुबा चन्द्रकेशर फुटबल खेलाडी थिए । उनले जिल्लास्तरीय फुटबल खेलेका थिए । बुबाकै फुटबल अंशमा उनमा पनि सर्यो । ‘बाबा टिचर हुनुहुन्थ्यो, घरबाट टाढाको स्कुलमा पढाउनुहुन्थ्यो, बेलाबेलामा मलाई फुटबल गिफ्ट ल्याइदिनुहुन्थ्यो, जस कारण हौसला मिल्यो’, उनले सुनाए ।
घरबाट साथ सहयोग हुँदापनि बालापनमा फुटबल खेल्नकै लागि भनेर उनी घरबाट ४–५ दिन भागेको सुनाउँछन् । ‘फुटबल खेल्न थालेपछि पढाइमा मनै नजाने, जे भएपनि बाबाआमाले पढ्न भन्नुहुन्थ्यो,’ उनी मुस्कुराउँदै भन्छन्, ‘एक पटक खेल्नकै लागि ५ दिनसम्म घरबाट भागेको, कहाँ गयो ? कता गयो छोरा ? भनेर चिन्तित हुनुभा’थ्यो ।’
स्थानीय उद्धिप क्लबले वर्षेनी ४ फिट १० इन्चको उचाइ नापेर खेलाडी छनौट गथ्र्यो । उनी त्यसैमा सहभागी भई खेल कौशल देखाए । क्लबमा आबद्ध भएपछि ०६० सालमा १४ वर्षमुनिको जिविस कप खेल्न इलामको टिमबाट काठमाडौं आए ।
त्यसअघि त्रिवेणी युथ क्लबले विद्यालयस्तर देखि नै प्रारम्भिक फुटबल सिक्ने मौका पाएका थिए ।
उत्कृष्ट खेल प्रदर्शनकै कारण ०६० र ६१ सालमा जिविस कपको उपाधि इलामलाई दिलाए । त्यस वर्षदखि जिविस कप भएन । सोही समय १६ वर्षमुनीको खेलाडीमा उनको नाम निस्किएन । एसएलसी दिएर बसेका उनलाई पढाइमा मन समेत लाग्दैनथ्यो । घरमा खाली बसेको समय उनको साथी आएर धनकुटामा आर्मीको तालिम खुलेको सुनाए । त्यसपश्चात् ०६५ सालमा कृष्णदल ब्यारेकमा आर्मीको तालिम लिन धनकुटा पुगे । त्यहाँबाट उनको यात्रा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबतर्फ डोरियो । यसबीच जिल्लाबाट उक्लिएर विभागीय क्लबमा आए पनि राष्ट्रिय जर्सीमा मैदान छिर्न श्रेष्ठलाई कडा संघर्ष गर्नुपर्यो ।
हतोत्साहित बनेका नवयुगको संघर्ष
जिविस कप पश्चात् त्यससमय उनी अन्डर १६ बाट समेत फालिएका थिए । २०६९ सालमा त्रिभुवन क्लबका तर्फबाट नेसनल लिगमा निकै राम्रो प्रदर्शन गरेपनि उनी राष्ट्रिय टिममा परेनन । खेलक्षेत्रमा आफनो मिहिनेत र लगनशीलताका बाबजुद राष्ट्रिय टिममा छनोट नहुँदा उनी केही हत्तोसाहित पनि भए । यद्यपी आफनो क्षमता प्रस्तुत गरेर विश्वास जित्नुपर्नेमा उनी विश्वास राख्थे । आफनो क्षमता प्रर्दशनको मौका फर्खेर बसिरहेका उनले सन् २०१५ पुनेमा भारतसँग भएको मैत्रीपूर्ण खेलमा प्रस्तुत गर्र्ने अवसर पाए । सो खेलनै उनको अन्तराष्ट्रियस्तरमा पहिलो डेब्यु गेम थियो । यद्यपी उनलाई सुरुवातमा उनी विजयी भएका खेलमा समेत सब्स्टिच्युटका रूपमा समावेश गराइएको थियो ।
चिन्ता प्रशिक्षण र भविष्यको
जुनसुकै विधामा लागेका खेलाडीलाई एउटै चिन्ता छ भविष्यको । खेल्न सकुञ्जेल हो खेलाडीको चर्चा । तर मैदानाबाट बाहिरिएपछि गुमनाम प्रायः हुन्छन् खेलाडीहरु । श्रेष्ठ पनि यस्तै मनोदशामा छन् । यस्तै समस्याबीच श्रेष्ठ केही ढुक्क छन् । आफु विभागीय क्लबमा रहेको र सेनामै जागिरे रहेकाले भविष्यको चिन्ताले त्यति साह्रै अन्य खेलाडीलाई जसरी नसताउने उनी सुनाउँछन् । उनका अनुसार कोरोना महामारीमा क्लबका खेलाडीलाई बढी असर परेको छ । जसमा सरकारले खेलाडीको लागि उचित व्यवस्था गरिदिनुपर्नेमा उनको जोड छ ।
अब आउने खेलाडी पुस्तालाई थप सुविधा
सरकारसँग केही गुनासो रहेपनि पूर्व खेलाडीहरुले भन्दा आफूहरुले बढी सुविधा पाएकोमा उनी सकारात्मक छन् । सँगै आफ्नो पछि आउने खेलाडी पुस्ताले पनि योभन्दा बढी सुविधा पाउनेमा उनी आशावादी देखिन्छन् । यसरी नै नेपालको खेलक्षेत्रमा विस्तार र सुधार आउनेमा उनी विश्वस्त छन् ।
भारतसधैं चुनौती
अन्यदेशको खेलमा भन्दा भारत र नेपालको खेल बढी रोमान्चक र चुनौतीपूर्ण हुन्छ । दुवै देशका खेलाडी समेत एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत भएको पाइन्छ । यस जिज्ञासामा श्रेष्ठ मैदान कहिलेकाही राष्ट्रिय परिस्थितिको घटना क्रम हेरेर प्रर्दशन हुने स्थान रहेको बताउँछन् । जस कारण पनि मैदानमा ओर्लनासाथ जित्नुपर्छ भन्ने फरक जोश आउने उनको भनाई छ । टसलसँगको प्रर्दशनका कारण भारत उस्तै जोशका साथ भिड्ने गर्छ जसकारणपनि खेल चुनौतीपूर्ण बन्छ । नाकाबन्दीको समया सम्पन्न भएको १२ औं सागमा भने नवयुगको गोलले नेपालले जित हासिल गरेको थियो ।
क्लबका टिमलाई सर्पोट विभागीय खेलाडीलाई अपशब्द
घरेलुमैदान होस् वा अन्तर्राष्ट्रिय खेल मैदान ‘नवयुग ,नवयुग’ ‘वि वान गोल नवयुग’ भन्दै फयानको स्वर मैदानमा गुन्जयामान हुन्छन् । नेपालको सन्दर्भमा खेलप्रेमी दर्शकले विभागीय टिमलाई भन्दा बढी क्लबका खेलाडीलाई बढी सर्पोट गरेको पाइन्छ । कहिलेकाही मैदानमा क्लबको सर्पोटरले विभागीय खेलाडीलाई अपशब्द प्रयोग गर्ने श्रेष्ठको गुनासो छ । आफनो टिमलाई सर्पोट गरेपनि सबै खेलाडीलाई सम्मान गर्नुपर्ने उनी बताउँछन् । यद्यपी अन्तर्राष्ट्रिय खेल मैदानमा भने सम्पूर्णले एउटै टिमको सर्पोट गर्छन् । खेलाडीको लागि दर्शकको साथ र सर्पोट इन्र्जी मान्ने उनले अन्तर्राष्ट्रिय खेल मैदानमा दर्शकलाई खुब मिस गर्ने बताउँछन् । अन्तर्राष्ट्रिय मैदानमा आफूहरुलाई सर्पोट नगर्ने दर्शक नहुँदा थोरै केही अपुग भएको उनको महसुस छ ।
आफनो फ्यानसँग इन टच
इलामका भएका कारण पूर्वतिरको खेल मैदानमा बढी सर्पोटर र फयान भएको श्रेष्ठ बताउँछन् । मिजासिला र फराकिलो स्वभाव भएका उनमा राष्ट्रिय खेलाडी र पब्लिक फिगर हुनुमा घमण्ड झल्किदैन । जसकारण उनी सोसल मिडियामा आफ्नो फ्यानलाई समय दिन भ्याइरहेका हुन्छन् । इन्स्टा, फेसबुकमा आफ्नो सर्पोटरसँग उनी समय समयमा टच भइरहेका हुन्छन् ।
लगनशील र परिश्रमी श्रेष्ठ सपना पुरा गर्न मिहिनेत र धैर्यता आवश्यक पर्नेमा विश्वास गर्छन् । फरवार्डरको रुपमै खेल्दै आएका त्रिभुवन आर्मी क्लब फुटबल टोलीका सदस्य उनको सपना अब नेपाली फुटबल टिमलाई अन्तर्राष्ट्रियस्तरमा माथि पुर्याउनु हो ।